एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ। कप्तान लियोनल मेस्सीको निर्णायक गोलमा जित निकालेको बार्सिलोना पुनः शीर्षस्थानमा उक्लिएको छ।
आइतबार राति एट्लेटिकोको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्ने अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। बार्सिलोनाको डिफेन्स तथा गोलरक्षकले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोललिाई अग्रता लिनबाट बञ्चित गरेका थिए।
त्यस्तै एट्लेटिकोको डिफेन्सलाई तोड्न नसक्दाबार्सिलोना पनि दबाबमा देखिएको थियो। तर खेल सकिन ४ मिनेट बाँकि हुँदा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सुआरेजसँगको उत्कृष्ट वन–टु पासमा गोल गर्दै टोलीलाई जिताए।
जितसँगै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना र रियल म्याड्रिडको समान अंक भएपनि गोलअन्तरको आधारमा बार्सिलोना अगाडि छ। दुवै टोलीले १४ खेलमा ३१ अंक जोडेका छन्। तेस्रो स्थानमा रहेको सेभिल्लाको १५ खेलमा ३० अंक रहेको छ।