काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण जितेको छ। नेपाललाई कराँतेका मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका हुन्।
श्रेष्ठले पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका हुन्। सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन्। मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे।
त्यसअघि सेमिफाइनलमा श्रेष्ठले बंगलादेशका खेलाडीलाई पछि पार्दै फाइनलमा स्थान बनाए। श्रेष्ठले २४ तथा बंगलादेशका खेलाडीले २२.८ अंक जोडेका थिए। श्रेष्ठले दुई दशकपछि नेपाललाई काँतामा स्वर्ण दिलाउन सफल भएका छन्। नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले काँतामा नेपाललाई स्वर्ण दिलाएका थिए। यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन्।