काठमाडौँ– काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। नौ घण्टाको फरकमा भएका दुवै दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँको कलंकी र भक्तपुरको सिर्जनानगरमा टिपरको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो।कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै सोमबार बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो। बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई नम्बर खुल्न नसकेको टिपरले ठक्कर दिएको थियो।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचारको क्रममा सवा ६ बजे उनको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ। दुर्घटना पश्चात टिपरसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै, भक्तपुरको सिर्जनानगरमा आइतबार बेलुकी टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २७ वर्षीय समिर विकको मृत्यु भएको हो।बेलुकी सवा ८ बजे बा३ख २५३१ नम्बरको टिपरले विकलाई ठक्कर दिएको थियो। सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति ९ बजे विकको मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ।