तस्वीरः अनलाइन खबरबाट
एजेन्सी– ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन्। डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’ मा सहभागी हुन उनी लण्डनमा पुगेकी हुन्। उनले त्यहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी छिन्। अनुष्कासँगै लण्डनमा विभिन्न देशका १२४ देशका सुन्दरीहरु पनि उपस्थित छन्। मिस वर्ल्डको तयारीसँगै अनुष्काले आफ्नो देशको प्रचार–प्रसार पनि गरिरहेकी छिन्। उनले ‘भिजिट नेपाल २०२०’ लाई विशेष रुपमा प्रचार गरिरहेकी छिन्।
लण्डनमा उपस्थित भएका विभिन्न देशका सुन्दरीहरुलाई अनुष्काले भिजिट नेपाल २०२० को विषयमा जानकारी दिइरहेकी छिन्। उनले सुन्दरीहरुलाई नेपाल घुम्न बोलाएकी पनि छिन्। उनले नेपालको विभिन्न ठाउँ र साहसिक खेलहरुको विषयमा बताएकी पनि छिन्। सुन्दरीहरुलाई नेपालको बारेमा बताएको भिडियो उनले आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन्।
उनले पोस्ट गरेको भिडियोमा निम्तो पाएका सुन्दरीहरु पनि निकै नै उत्साहित देखिन्छन्। उनले अन्य सुन्दरीहरुलाई नेपाल सगरमाथाको देश भएको भन्दै आफ्नो देशलाई चिनाइरहेकी छिन्। अनुष्काको यो प्रचारले भिजिट नेपाल २०२० लाई विशेष सहयोग हुने अपेक्षा गर्न सकिन्छ। उनको यो साहसी कदमको नेपाललै उच्च मूल्याङ्कन गरोस्।