धनगढी– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले धनगढीमा हुन लागेको वित्तीय सम्मेलन आर्थिक विकासका लागि कोसेढुङ्गा साबित हुने बताएको छ।
यही मङ्सिर २० गते हुने उक्त सम्मेलनको तयारीबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले वित्तीय गतिविधिमार्फत प्रदेशमा आर्थिक विकासलाई अगाडि बढाउन यो सम्मेलन कोसेढुङ्गा हुने स्पष्ट पारे।
सो अवसरमा सम्मेलनको तयारी आन्तिम चरणमा पुगेको जानकारी दिइएको थियो। सम्मेलनमा सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुखलगायत झण्डै ४५०भन्दा बढीको सहभागिता रहने बताइएको छ।
सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, देखिएका समस्या र पहुँच बढाउन गर्नुपर्ने उपाय लगायतका विषयमा प्रस्तुति र छलफल हुने जनाइएको छ। पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहालले सम्मेलनको उद्घाटन गर्नुहुने बताइएको छ।
सुदूरपश्चिम प्रदेशमा वित्तीय पहुँच अपेक्षाकृत रुपमा बढ्न नसकेको अवस्थामा वित्तीय पहुँच र सचेतनामार्फत प्रदेशमा आर्थिक क्रियाकलाप बढाई आर्थिक विकास गर्ने लक्ष्यसाथ यो वित्तीय सम्मेलन गर्न लागिएको हो। यस्तो सम्मेलन प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक हुन लागेको हो।
पत्रकार सम्मेलनमा ‘सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६’को लोगो र नारा पनि सार्वजनिक गरिएको थियो। ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने मूल नारा तय गरिएको छ। यो प्रदेशमा रहेका सबै ८८ पालिकामध्ये ८३ पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ।
पहाडी क्षेत्रको बझाङ र बाजुरा जिल्लाका पाँच वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको पहुँच पुग्न अझै बाँकी छ। प्रदेश सरकारले चालू वर्षमा आयोजना गर्न लागेको लगानी सम्मेलनलाई पनि यो सम्मेलनले टेवा पु¥याउने विश्वास गरिएको छ। प्रदेश सरकारको चालू वर्षको नीति कार्यक्रममा लगानी सम्मेलन गर्ने उल्लेख गरिएको छ। तर लगानी सम्मेलनको मिति तय गर्न बाँकी छ। (रासस)