काठमाडौं– होन्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ प्राइभेड लिमिटेडले आफ्नो कुनैपनि मोडेलका मोटरसाइकल वा स्कुटर खरिद गर्न चाहनेहरुलाई विना व्याजदरमा कर्जा प्रबाह गर्ने अफर ल्याएको छ।
होन्डाले नेपाली बजारमा आकर्षक मोटरसाइकलमा सिबी साइन, यूनिकर्न, एक्सब्लेड, एक्सआर सिरिजका मोटरसाइकल बिक्री गर्दै आएको छ। साथै, कम्पनीले चर्चित स्कुटरहरु डियो, एभिएटर, ग्रजिया, एक्टीभा लगायतका मोडल बिक्री गर्दै आएको छ।
कम्पनीले आफ्ना सबै मोडलमा उपलब्ध गराउने भएको उक्त अफर बमोजिम ग्राहकले कर्जामा बाइक किन्दा ब्याज तिर्नुपर्ने छैन। यतिमात्रै नभई कम्पनीले बाइक तथा स्कुटरको मूल्यमा ४ हजार ५ सय रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ।
यो अफरमा मोटरसाइकल तथा स्कुटर किन्दा अनिवार्य रुपमा ४० प्रतिशत डाउनपेमेन्ट भने गर्नुपर्ने कम्पनीले जनाएको छ र बाँकी रहेको ६० प्रतिशत रकम १२ किस्तामा तिरिसक्नु पर्ने हुन्छ। अधिकतम एक वर्ष्भित्रमा किस्ता तिरिसक्नुपर्ने कम्पनीले जनाएको छ।