मकवानपुर– लागूऔषध कारोबारको ट्रान्जिटको रुपमा रहेको मकवानपुरका प्रहरीले पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौँडातर्फ ल्याउदै गरेको चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
त्रिभुवन राजपथको हेटौँडा–पालुङ खण्डमा प्रहरीले बा २५ प ८७८३ नम्बरको मोटरसाइकलले पेट्रोल भर्ने ट्यांकीमा ल्याउदै गरेको २५ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीलाई छक्याउने तरिकाले पेट्रोल भर्ने ट्यांकीको तल्लो भाग काटेर फल्स बनाई चरेस भर्ने र पछिल्लो भागमा मान्छे बस्ने सिट मुनी नयाँ ढङ्गबाट तेल भर्ने ट्यांकी बनाएर वीरगञ्ज लैजादै गरेको चरेससहित भारत मोतिहारी सिसुवा २ बस्ने २५ वर्षिय राजेश यादब र मोटरसाईकलको पछाडि सवार भारत मोग्लेसपुरका १८ वर्षिय ऋषिकुमार यादबलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो।
प्रहरीलाई छक्याउनका लागि कारोबारीले नयाँ शैली अपनाउने क्रम चलिरहेको उपरीक्षक सिंहको भनाइ छ। मकवानपुर र धादिङको विभिन्न क्षेत्रमा उत्पादन गरिने लागूऔषध मकवानपुर आसपास हुँदै भारतसम्म पुयाउने गरिएको प्रहरीको भनाइ छ।