काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले १२ स्वर्ण जितिसकेको छ। पछिल्लो पटक एकल तेक्वान्दो पुम्सेमा स्वर्ण पदक जितेकी आयशा शाक्यले पुम्से जोडीमा पनि स्वर्ण पदक जितेकी छिन्।
त्यसअघि कराँतेकी कुसुम खड्काले कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेसँगै स्वर्ण संख्या एघार पुगेको हो। फाइनलमा कुसुमले बंगलादेशकी माउन्जारा बोर्नालाई ३–२ ले हराउँर्दै स्वर्ण जितेकी हुन्। त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७–६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।
कराँतेबाट नेपालले जितेको यो छैटौं पदक हो। यसअघि काँतामा नेपालले ३ स्वर्ण जितेको थियो। काँतामा टिम इभेन्टको महिला र पुरुष तथा एकलतर्फ मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए। कुमुतेतर्फ विप्लव श्रेष्ठ र लक्ष्मण तामाङपछि यो दोस्रो स्वर्ण हो।
त्यसैगरी नेपालले तेक्वान्दोतर्फ ४ स्वर्ण जितेको छ। पुम्सेतर्फ कमल श्रेष्ठ, पार्वती गुरुङ, सिमा मादेन लिम्बू र आयशा शाक्यले स्वर्ण पदक जितेका हुन्। ट्रायथलनमा सोनी गुरुङले स्वर्ण पदक जितेकी छिन्।