काठमाडौं– प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले अस्पतालको शय्याबाट भिडिओ सन्देश दिँदै आफूलाई सन्चो हुँदै गएको बताएका छन्।
उनले केही दिनभित्रै नियमित काममा फर्किने विश्वास व्यक्त गरेका छन्। काठमाडाैं महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।गत मङ्गलवार बिहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो। केही साताअघि डायालिसिस गराएका प्रधानमन्त्री ओलीको अस्पताल लगिए लगत्तै शल्यक्रिया गरिएको हो।
चिन्ता नगर्नुस्, ठीक हुँदैछु
केहीबेर अघि उनको वेबसाइटमा राखिएको सन्देशमा उनले भनेका छन्, “मलाई ठीक हुँदैछ। चिन्ता लिनुपर्ने स्थिति छैन। मेरो स्वास्थ्यबारे देखाउनुभएको सरोकार र स्वास्थ्यलाभको कामना गर्नुहुने सबैलाई धन्यवाद।’’
लगत्तै ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे आफै जानकारी गराएको भिडिओ समेत सार्वजनिक गरिएको छ। उनको बाह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। शल्यक्रियापछि त्यहीँ डायालिसिस पनि गरिएका खबरहरू आएका थिए।
उनको रोगको गम्भीरतालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री ओलीको भिडिओ सन्देश सार्वजनिक गरिएको हो। अस्पतालले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्यमा ‘उल्लेखनीय सुधार भइरहेको’ जनाइएको छ।अस्पतालको विज्ञप्तिमा भनिएको छ, “सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको छ।’’बीबीसी