काठमाडौं– शैली थ्रिएरले शुरुवातबाट नै समाजमा एउटा नयाँ सन्देश दिँदै आएको छ। वि.सं २०६५ सालबाट औपचारिक रुपमा सुरु भएको शैली थ्रिएटरले आफ्नै नाटकघर (भवन) बनाएको छ। १० वर्षअघि औपचारिक रुपमा सुरु भएको थ्रिएटरले काठमाडौंको रातोपुलमा आफ्नै घर बनाएको हो। आइतबार उक्त नाटकघरको औपचारिक रुपमा उद्घाटन गरिएको छ। शैली थ्रिएटरका अध्यक्ष नवराज बुढाथोकीले एउटा ठुलो सपना पूरा भएको बताएका छन्।
उनले भने, ‘हामीले २०७४ सालको असारबाट नाटकघरको निर्माण शुरु गरेका थियौं। झण्डै २ वर्षपछि हामीले देखाउन मिल्ने गरी नाटक घर तयार गरेका छौ। यो हाम्रो लागि निकै खुसीको कुरा हो।’ शैली थ्रिएटरको उद्घाटनमा कलाकार रमेश बुढाथोकी, बद्री अधिकारी, गायक नारायण रायमाझी, गायक प्रकाश सपुत लगायतको उपस्थिती रहेको थियो।
नाटक घरको औपचारिक उद्घाटनपछि गोविन्द बहादुर मल्ल ‘गोठाले’ को लेखनमा तयार भएको ‘भुसको आगो’ नामक नाटक मञ्चन भएको थियो। जसलाई निर्देशक नवराज बुढाथोकीले नाटकको रुप दिएका हुन्। यो नाटक मंसिरको ३० गतेसम्म मञ्चन हुनेछ।