काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले उपनिर्वाचनको परीणामले सरकारविरुद्ध जनमत प्रकट भएको स्पष्ट पारे।
उनले भने,‘समग्रमा यो उपनिर्वाचनमा नेकपाविरुद्ध जनमत प्रकट भएको देखियो। उसले भक्तपुर र धरानमा दुई महत्वपूर्ण सिट हार्यो। पोखरा र बाग्लुङमा उसको स्थिर नतिजा आयो। धरान र भक्तपुरमा चाहीँ सरकारविरुद्ध जनमत आएको हो।’
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै जबराले सरकारले दुई तिहाई बहुमतको अवसरलाई खेर फालेको पनि आरोप लगाए। उनले भने,‘यो सरकार बनेको झण्डै दुई वर्ष भयो। तर, यसलाई यो अवधिमा तौलने हो भने राजनीतिक रुपमा सफल भएको छ। तर, विकास र समृद्धिको हिसाबमा असफल भएको छ। वर्तमान प्रधानमन्त्री ओलीजी पनि राजनीतिक रुपमा सफल हो। तर, विकास र समृद्धिको हिसाबमा असफल हुनुभयो। उनले दुई तिहाई बहुमत खेर फाले
उनले ऐतिहासिक मौकाको सदुपयोग गर्न सकेनन्।’ सरकार विकास र प्रशासनिक रुपमा पुरै असफल भएको उनको आरोप छ। जबराले मुलुकलाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापित गर्नको लागि देशव्यापी रुपमा सही छाप (हस्ताक्षर) गर्ने आफूहरुको तयारी रहेको पनि सुनाए। उनले भने,‘देशभरि हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाउँछौं।’
उनले नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्ने आफूहरुको अठोट रहेको सुनाए। उनले भने,‘यो मुलुकलाई हिन्दूराष्ट्र बनाएरै छोड्छौं। यो अभियानमा हामी सम्पन्न गर्छौं।’