एजेन्सी– यौन दुर्व्यवहारका मुद्दामा दोषी ठहरिएका दिवङ्गत अमेरिकी धनाढ्य जेफ्री एप्स्टीनमाथि दुर्व्यवहारको आरोप लगाएका पाँच महिलाले एप्स्टीनको निवासमा मसाज गरिरहेको बेला ब्रिटिश राजकुमार एन्ड्रू पनि उपस्थित रहेको बताएका छन्।
ती महिलाका वकिलले बीबीसीको प्यानारोमा कार्यक्रमलाई आफूले राजकुमारलाई पनि अदालतमा बयान दिन बोलाउने योजना बनाएको बताए। ती वकिलका अनुसार महारानी एलिजबेथका माहिला छोरा राजकुमार एन्ड्र्रूसँग यौनका निम्ति हुने मानव बेचबिखनबारे महत्त्वपूर्ण सूचना हुनसक्छ।
राजकुमारले चाहिँ आफ्ना पुराना मित्र एप्स्टीनको घरहरूमा जाँदा कुनै शङ्कास्पद गतिविधि नदेखेको बताएका छन्। ती पीडित महिलाका वकिल डेभिड बोइजले भने, “हामीले चाहेको एउटा कुरा चाहिँ राजकुमार एन्ड्र्रूसँग अन्तर्वार्ता हो जसबाट उनको बयान बुझ्न सकियोस्। उनी एप्स्टीनको घरमा बारम्बार आउजाउ गर्थे।’’
अमेरिकी अदालतमा चलिरहेका ती पाँचवटै मुद्दामा बयान दिन आउन अदालतले पठाउने आदेश तयार पारिएको र राजकुमार अमेरिका आउँदा न्यायाधीशले त्यसमा हस्ताक्षर गर्नुपर्ने बताइएको छ। यदि कुनै प्रमाण दिन अनिच्छुक भएमा राजकुमारले त्यस्तो बोलावटको चुनौती अदालतमै दिनुपर्नेछ।
जूफ्रे काण्ड
अमेरिकी अदालतमा दिइएका बयान बीबीसीको प्यानारोमा कार्यक्रममा खुलाइएको छ। उक्त कार्यक्रममा भर्जि्निया जूफ्रेसँग लिइएको अन्तर्वार्ता पनि छ। जूफ्रेले आफू १७ वर्षको उमेरको हुँदा राजकुमार एन्ड्रूसँग यौन सम्बन्धका लागि आफूलाई ब्रिटेन पु¥याइएको आरोप लगाएकी छन्।
महारानी एलिजबेथका माहिला छोरा एन्ड्रूले त्यस्तो कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिइसकेका छन्। बीबीसीका शाही संवाददाता जनी डाइमन्डका अनुसार पाँच महिलाले एप्स्टीन तथा उनका पाहुनालाई मसाज गरिरहेको राजकुमार एन्ड्रूले देखेको बयान दिनु अनि उनलाई अदालतमा बयान दिन बोलाउने तयारी भइरहेको विवरण राजकुमारका लागि निकै नराम्रो समाचार हो।
विगतमा राजकुमारले एप्स्टीनको आवासहरूमा कुनै शङ्कास्पद गतिविधि नदेखेको बताएका थिए। “तर यो नयाँ विवरण त्यसको विपरीत छ। यो निकै असाधारण अवस्था हो कि अब रानीको माहिलो छोरा अमेरिका यात्रा गर्न वस्तुतः असमर्थ हुनेछन्। या त उनी अमेरिकी अदालतमा बयान दिनका लागि तयार हुनुपर्नेछ,’’ उनले भने।
यौन दुर्व्यवहारका विभिन्न मुद्दा खेपिरहेका एप्स्टीनले तीन महिना अगाडि जेलमै आत्महत्या गरेका थिए। धनी र शक्तिशाली व्यापारी एप्स्टीनले एकताका राष्ट्रपति डोनल्ड ट्रम्प, भूतपूर्व राष्ट्रपति बिल क्लिन्टन र राजकुमार एन्ड्रू साथी भएको बताएका थिए। बीबीसी