काठमाडौं– सडकमै रात काट्ने र ढलमा फालिएको फोहर खाना खाएर छाक टार्ने मखमली तामाङका केही समयअघिका दिन कहाली लाग्दा थिए।
घाम, पानी, हावाहुरी झरीको पर्वाह नगरी सडकमै कठिन र सङ्घर्षपूर्ण जीवन बिताउनु उनको बाध्यता थियो। सडकमा बस्नेलाई यो राजधानीको भीडमा वास्ता गर्ने कोही थिएन। श्रीमान्ले छोडेपछि एक्लिएर विक्षिप्त बनेर हीडेकी मकवानपुरकी तामाङलाई अहिले भरपर्दो आश्रय मिलेको छ।
उनलाई नयाँ जीवन दिँदै परोपकार समाजले उनीजस्ता धेरै सहाराविहीनलाई सहारा दिँदै आएको छ। समाजले तार्केश्वर नगरपालिका–७ फुटुङमा सञ्चालन गरेको आश्रममा अहिले १५ जनाले आश्रय पाएका छन्। पीडादायी जीवनबाट ग्रसित बनी झण्डै मृत्यु रोज्ने अवस्थामा पुगेका उनको जीवन फेरिएको छ। यहाँसम्म आउन पाउँला भनेर कल्पनासम्म पनि गरेकी थिइँन’, तामाङले भने, ‘भगवानको आँखा म भएको ठाउँमा पुग्यो, मलाई उद्धार गर्ने भगवान समान छन्।
धुँवा, धुलो र कोलाहलपूर्ण काठमाडौँको वातावरण र व्यस्त सडकमा भौतारिएर जीवन काटेकी मखमलीले अहिले शान्त मनोरम वातावरणको आश्रममा आश्रय लिइरहेको छ। आश्रममा फूल र तरकारीखेती पनि छ। आश्रम तरकारीमा आत्मनिर्भर छ भने फूल बाहिर बिक्री गर्ने गरिएको छ। झकमक्क फुलेका थुङ्गे फूल, लटरम्म फलेका टमाटर, फुलेर सेत्तै देखिने फूलगोवी, यी सबैले गर्दा सौन्दर्य थपिएको छ।
यहाँ परिवारबाट अपहेलित भएका, बिछोडिएका, खाना बस्न र लगाउन नपाएकै कारण शारीरिकरुपमा अस्वस्थ र कमजोर भएकालाई सहारा दिइएको छ। केहीले मानसिक सन्तुलन गुमाएका छन्। प्रेमिकाले धोका दिएपछि मानसिक सन्तुलन गुमाउन पुगेका पोखराका सुरज केसीले गुमाए, र पुगे सडकमा। उनी बगैँचामा फूल टिप्दै थीए। उनको अनुहार फूल जस्तै उज्यालो देखिन्थ्यो। न्यून दृष्टियुक्त व्यक्ति, अपाङ्गता र अशक्त भएकाले बाहेक सक्नेले खन्ने, फूल लगाउने, तरकारी लगाउने, टिप्ने काम गर्छन्।
यसैगरी, बङ्गलादेशी नागरिक बताउने इकवाल आलमलाई कपनमा होमपाइपबाट उद्धार गरी आश्रममा राखिएको छ। समाजका अध्यक्ष दुर्गानाथ दाहालले आश्रममा ल्याइसकेपछि परिवारको खोजी गरी पुनर्मिलन गराइदिने कार्य पनि गरिने बताएका छन्। उनले भारतसम्म पुगेर पनि पुनर्मिलन गराउन सफल भइएको अनुभव सुनाएका छन्। उनले यस वर्ष आश्रमबाट करिब डेढ लाखको फूल बिक्री गरेको बताएका छन्, ‘तिहारमा मात्रै फूलखेती गर्ने चलन छ’, दाहालले भने, ‘फूलको माग अत्यधिक छ, अबदेखि बाह्रैमास फूलखेती गर्ने योजनामा छौँ।’
उनले मनोरोगी फूलको बगैँचा देख्दा निकै खुशी हुने गरेको बताएका छन्। फूलखेती गर्दा धेरैतिरबाट फाइदा हुने हुँदा यो खेती गर्न थालिएको बताएका छन्। ‘उत्पादनमूलक कामसँग जोडिएर धेरै वस्तुमा आत्मनिर्भर बन्ने योजना छ’, उनले भने, ‘हामी सहयोग लिने मात्र नभएर अरुलाई सहयोगस्वरुप दिने गरी उत्पादनका काममा लागिरहेका छौँ।’ आश्रममा मजदूरी गर्न नसकेर सडकमा अलपत्र परेकालाई पनि राखिएको छ।
धेरै घरधनीले मजदूरलाई कोठा नदिने र भाडा महँगो हुँदा कोठा लिन नसक्ने हुँदा मजदूरको सडकको बास हुने गरेको बताएका छन्। दाहालले विभिन्न दाताले दिएको सहयोगबाट आश्रम सञ्चालनमा ल्याइएको बताएका छन्। ‘सरकारबाट कुनै सुविधा पाएका छैनौँ’, उनले भने, ‘विदेशी सहयोग लिँदैनौँ।’ उनले कतिपय आश्रम बन्दीगृहजस्तै हुने हुँदा बस्नेलाई निकै समस्या पर्ने गरेको बताउँदै भने, ‘हाम्रो आश्रम खुला वातावरणमा हिँडडुल गर्नसक्ने खालको खालको छ । फूल, तरकारी र विभिन्न खेतीले झनै आनन्द प्रदान गर्छ।’ (रासस)