काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्काल चीन भ्रमण स्थगित गरेका छन्। यही मंसिर २४ वा २६ गते चीन जाने कार्यक्रम तय भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारकै क्रममा अस्पतालमा भर्ना भइराखेको अवस्थामा विदेश भ्रमणमा जान उपयुक्त नहुने भन्दै तत्काललाई भ्रमण स्थगित गरेका हो।
अध्यक्ष दाहाल सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओली निवास फर्केपछि मात्र दाहालको चीन भ्रमण तय हुनेछ। नेकपाका ६० सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै अध्यक्ष दाहाल चीन जान लागेका थिए।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। शनिबार दिउँसो भएको एक कार्यक्रममा उनले आफू चीन भ्रमणमा जान लागेको बताएका थिए। उनले आफ्नो टिममा जाने नेताहरू छनोट गर्ने भन्दै शनिबार केही नेताहरूलाई खुमलटारस्थित आफ्नो निवासमा बोलाएर छलफलसमेत गरेका थिए।
तर उनले आइतबार साँझ नै आफ्नो भ्रमण स्थगित गरेका हुन्। ‘प्रधानमन्त्री स्वास्थ्य लाभ गरेर निवास फर्केपछि मात्रै उहाँ चीन भ्रमणमा जानुहुनेछ,’ दाहालको सचिवालयमा कार्यरत एक सदस्यले भने। प्रधानमन्त्री ओली एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा उपचाररत छन्।