काठमाडौँ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत मङ्गलबार कीर्तिपुरमा भएको क्रिकेटमा नेपालले श्रीलङ्का सामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ गरेको श्रीलंकाले नेपाली ब्याट्सम्यानको रफ्तारलाई रोक्न नसक्दा विशाल लक्ष्य पाएको हो।
निर्धारित २० ओभरमा नेपालले पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनाउँदै श्रीलङ्का सामु जितका लागि १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको हो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ७२ रन बनाए। ४४ बल सामना गरेका उनले तीन छक्का र चार चौकाको मद्दतमा उक्त रन बनाएका हुन्।
यस्तै, पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्लले २१ र विनोद भण्डारीले पनि २१ रन बनाए।श्रीलङ्काका लागि कमिन्डु मेन्डिसले दुई विकेट लिए। यस्तै दुभिन्दु तिरकरत्ने, कभिस्का अन्जुला, असिथा फर्नान्डोले एक–एक विकेट लिए।