काठमाडौं– अस्पतालमा भर्ना भएका नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर १३ गते अस्पताल पुगे। जहाँ उनीहरूबीच रोचक संवाद भयो।
आफ्नो स्वास्थ्यस्थिति बुझ्न गएका प्रचण्डसँग प्रधानमन्त्रीले समसामयिक राजनीतिबारे चासो राखे। प्रचण्डको सचिवालयका अनुसार उपनिर्वाचन, पार्टी गतिविधि आदि विषयमा उनको जिज्ञासा थियो। उत्तरमा “बाहिर पार्टी कामको कुनै चिन्ता नलिई आफ्नो स्वास्थ्य ख्याल गर्न’’ प्रचण्डले प्रधानमन्त्रीलाई आग्रह गरे। उनले त्यस्तो आग्रह गर्नुभन्दा एक साताअघि पार्टीले प्रचण्डलाई ‘कार्यकारी’ हैसियत दिएको थियो।
तर प्रधानमन्त्रीले चासो राखेको उपनिर्वाचन सम्पन्न भयो। दलहरूले चुनावी परिणामबारे आआफ्नै व्याख्या गरेका छन्। सङ्घीय संसद्को हिउँदे अधिवेशन, सभामुख चयन, कालापानी विवादजस्ता मुद्दा सरकार र सत्ताधारी दलका अघिल्तिर छन्। तर नेकपाको बैठक बसेको छैन। प्रधानमन्त्री गम्भीर बिरामी पर्दा पनि नेपाली राजनीतिमा देखिने प्रचलनअनुसार आफ्नै पार्टीले उनको स्वास्थ्य लाभको कामना समेत औपचारिक रूपमा गरेको पाइएन।
बैठक बोलाउन दबाव
तर पार्टी्भित्र कार्यकारी अध्यक्ष प्रचण्डमाथि बैठक बोलाउन दबाव छ। सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ भन्छन्, “सचिवालयको नियमित बैठक नै धेरै ढिलो भइसकेको छ। एकदुई दिनमै हुनुपर्ने हो। प्रधानमन्त्रीसँगै सल्लाह गरेर गर्नुहुन्छ।’’ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र अर्का नेता माधवकुमार नेपाल यसबीच विदेशमा थिए। दुवै नेता फर्किसकेका छन्। नेता खनाल पनि बैठक बोलाउनुपर्ने पक्षमा छन्।
उनी भन्छन्, “अहिलेका सबै घटनाक्रमहरूलाई लिएर तुरुन्त सचिवालयको बैठक बोलाउने र सचिवालयले केही दिनभित्रै स्थायी समितिको बैठक बोलाउनु अनिवार्य देखिएको छ।’’ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री ओली मंसिर १० गते मङ्गलवार अस्पताल भर्ना भएका हुन्। त्यही दिन उनको शल्यक्रिया भयो।
अधिकार प्रचण्डमा
चिकित्सकहरूका अनुसार उनी केही दिन अस्पतालमै रहनेछन्। र, त्यसपछि पनि उनले केही दिन आराम गर्नुपर्नेछ। फेरि मिर्गौला प्रत्यारोपण गर्नेबारे पनि छलफल भइरहेको छ। यस्तो परिस्थितिमा प्रधानमन्त्री ओली तत्कालै पार्टी समेतको काममा सक्रिय भइहाल्ने अवस्था कमजोर देखिन्छ।
वरिष्ठ नेता खनालका विचारमा प्रधानमन्त्री बिरामी हुँदा कतिपय कुरा प्रभावित हुन भए पनि प्रचण्डले बैठक बोलाउन सक्छन्।उनले भने, “प्रधानमन्त्री बिरामी पर्दैमा केही फरक पर्दैन। मज्जाले बोलाउन मिल्छ।“
तर मंसिर ४ गतेको सचिवालय बैठकबाट “कार्यकारी अधिकारसहित पार्टीका काममा केन्द्रित हुने’’ र “आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन गर्ने’’ अधिकार पाएका प्रचण्डले किन बोलाइरहेका छैनन् बैठक?
अब लगातार बैठक
प्रचण्डनिकट नेता जनार्दन शर्माका अनुसार सम्भवतः केही दिनमा बैठक बोलाइनेछ। उनले भने, “अध्यक्ष प्रचण्डलाई बैठक छिटो डाक्न भनेका छौँ। सबै साथीहरूको माग छ। उहाँ तयारीको क्रममा हुनुहुन्छ। प्रधानमन्त्रीलाई अलिकति आराम भयो भने बैठक हुन्छ जस्तो मलाई लाग्छ।’’
उनका अनुसार पहिले सचिवालय बैठक र त्यसपछि लगत्तै स्थायी समिति र केन्द्रीय समितिको बैठक पनि हुनेछ। पार्टी एकीकरण लगत्तै भएको केन्द्रीय समितिको बैठक नभएको लामो समय भइसक्यो। स्थायी समितिको बैठक पनि हुनसकेको छैन।
प्रचण्डको सचिवालयका अनुसार पहिल्यै बैठक गरेर पार्टी एकीकरणलाई टुङ्गोमा पु¥याउने र प्रदेशस्तरीय अभियान चलाउने निर्णय गर्ने तयारी थियो। प्रधानमन्त्री बिरामी भएकाले पर्खिएको हो। सचिवालयका एक सदस्यका भनाइमा “आफू अस्पतालमै भएका बेला कार्यकारी अधिकार पाएलगत्तै प्रचण्डले केके गर्न थाले भन्ने शङ्का प्रधानमन्त्रीलाई नहोस्’’ भनेर केही दिन ढिलो गरिएको हो। बैठक बोलाउन प्रचण्डले सचिवालयका अन्य सदस्यहरूसँग परामर्श गरिरहेको बताइएको छ।
‘छाया’ अध्यक्ष
यसअघि प्रधानमन्त्री ओली विदेशमा रहेका बेला प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल सहितका नेताहरूको अनौपचारिक बैठकलाई लिएर ओलीमा ठूलै शङ्का देखा परेको बताइन्छ। उनले त्यस बैठकलाई “आफूलाई हटाउन चलखेल’’को रूपमा बुझेको प्रचण्डनिकट नेताहरू बताउँछन्।
सचिवालयका एक सदस्य भन्छन्, “त्यस्तो अवस्था फेरि आउन नदिन र एकजना अध्यक्ष बिरामी पर्दा भर्खर कार्यकारी अधिकार पाएका अध्यक्षले बैठक बोलाउँदा नैतिक र सुहाउँदो नहुने भएकाले हतारो नगरिएको हो।’’ नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्दा दुईजना अध्यक्ष रहने व्यवस्था गरिएको हो।
तर एकजना अध्यक्ष ओली प्रधानमन्त्री रहेकाले अधिकांश बैठकहरू उनको सरकारी निवासमै हुन्थे। पार्टीको अध्यक्षता पालैपालो गर्ने भनिए पनि ती बैठकको अध्यक्षता ओलीले नै गर्थे। तत्कालीन माओवादीका एक नेताको बुझाइमा प्रचण्डले सुरुदेखि नै “समान अध्यक्षको हैसियत’’ को अभ्यास नगर्दा पार्टीका सम्पूर्ण काम र क्रियाकलाप पूर्णरूपमा ओलीमा निर्भर र केन्द्रित हुन पुगेको हो।
नाम खुलाउन नचाहने ती नेताले भने, “वैधानिक रूपमा दुई अध्यक्ष भए पनि प्रचण्ड ओलीका छाया अध्यक्ष थिए। पुरानो समझदारी पछिल्लो सचिवालय बैठकले कार्यान्वयन गरेको मात्र हो।“
अग्रसरताको आशङ्काको भय
पार्टी बैठकको अध्यक्षता गर्ने अधिकार पाएपछि प्रचण्डले पछिल्लो बैठकबाट पार्टी थप एक ढिक्का भएको बताउँदै प्रसन्नता व्यक्त गरेका छन्। उनले उक्त निर्णय भएको तेस्रो दिन बागलुङको चुनावी सभामा भनेका थिए, “एउटा (अध्यक्ष) ले सरकारमा जोड दिने र एउटाले पार्टी बलियो बनाउन जोड। अब पार्टीमा पनि कुनै भ्रम छैन। बाटो साफ भएको छ।’’
त्यही सभामा उनले कालापानी विवादको प्रसङ्ग झिकेका थिए। कालपानी क्षेत्र राखिएको भारतीय नक्सा मान्य नभएको बताए। उनको भनाइ थियो – यसको निम्ति जुनसुकै पहल कदमी लिन तयार छौँ।
प्रधानमन्त्री ओलीले त्यसबारे भारतसँग कुरा गर्न विशेषदूत पठाउनेबारे परामर्श अघि बढाएको थाहा भएको छ। उनी संसद्को हिउँदे अधिवेशन ढिलोमा अन्तिम सातासम्म बोलाउने मनस्थितिमा रहेको बताइएको थियो। सरकारको ‘मध्यावधि परीक्षण’ भनि चर्चा गरिएको उपचुनाव सकिएको छ। पार्टीमा पोलिटब्यूरो गठन गर्न बाँकी छ।
प्रधानमन्त्री बिरामी भएसँगै नेकपाको बैठक अवरुद्ध हुँदा ती विषयमा धारणा बनाउन र अग्रसरता लिनुपर्ने बेला ‘कार्यकारी’ प्रचण्ड ‘निष्क्रिय’ रहेको पार्टीभित्रैका एकथरीको बुझाइ पाइन्छ। तर प्रचण्डका सचिवालयका सदस्य भन्छन्, “अध्यक्ष निष्क्रिय होइन, कार्यकारी अभ्यासको तयारीमै हुनुहुन्छ। आफ्नो अग्रसरताले आशङ्का नबढाओस् भन्ने सचेतताले केही ढिलो भएको मात्र हो।’’ बीबीसी