जोमसोम – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बेनी–जोमसोम –जोमसोम– कोरला सडक निर्माणको गति सुस्त छ। कोरला सडकको काम सुस्त भइरहँदा भने उपल्लो र तल्लो खण्डको २ प्याकेजको काम अलपत्र परेको हो।
करिडोर सडकअन्तर्गत बेनी–जोमसोम ७६ किमी निर्माणधिन सडकको म्याद मंसिर १५ गते सकिएको हो भने जोमसोम–कोरला सडकको पनि तेश्रो पटक थपिने म्याद असारमा सकिदै छ।
म्याद सकिदै गर्दा कोवाङदेखि जामसोम १९ किमी र चराङदेखि छोसेर २५ किमी सडकको काम ठप्पै भएको छ। कोशी एण्ड न्यौपाने जेभीले जिम्मा लिएको उक्त सडकको काम ६ महिना अगावै रोकिएको करिडोरले जनाएको छ।
सुरवाती चरणमा कोशी एण्ड न्यौपानेले तीब्र गतिमा अघि बढाएको भएपनि पछिल्लो अवस्थामा काम रोकिएको हो। मुस्ताङको मार्फादेखि टुकुचेसम्मको दुरीमा ग्राभेल पूरा गरी भुक्तानी लिएको कम्पनीले त्यसपछि काम अघि बढाएको छैन।
कम्पनी डुबेकाले अरु निर्माण व्यवसायीलाई बिक्री गरिएको बुझिएको छ। जेभीले कोवाङ देखि जोमसोम खण्ड करिव ६२ करोड र चराङ देखि छोसेर खण्ड करिव २६ करोडमा सम्झौता गरेको थियो। करिडोरका अनुसार साविक कम्पनीले तल्लो खण्डमा ५० प्रतिशत र उपल्लो खण्डमा ६२ प्रतिशत काम सपन्न गरेको जनाएको छ।
कोशी एण्ड न्यौपानेकै नाम हटाएर साविक कम्पनीको नाम सप्तकोशी एण्ड जलाधार कन्ट्रक्सन राखिएको प्राजेक्ट म्यानेजर सहदेव गौतमले जानकारी दिए। उनका अनुसार कोशी एण्ड न्यौपानेले थालेका सबै काम अब नया कम्पनीले सूचारु गर्ने बताए। ठेक्का मोबिलाइजेसन र व्यवस्थापनको प्रक्रिया पूरा गर्दैछौं। कामका लागि उपकरण फिल्डमा पठाउने काम भएको छ। केही स्थानमा कटिङ ,फिलिङको काम सुरु भएको छ ,प्रोजेक्ट म्यानेजर गौतमले भने।
हिउँदयामसँगै मुस्ताङमा हिमपात र जाडो अत्यधिक हुने भएकाले चैत्रदेखि कामले गति लिने उनले जनाए। मेसिनबाहेक मजदुरले काम गर्ने सक्ने अवस्था नभएको उनको भनाई। कालोपत्रेको पूर्ण तैयारीमा रहेको मार्फा– खन्ती सडकमा आगामी दसैं अगावै कालोपत्रे गर्ने तयारी भइरहेको म्यानेजर गौतमले उल्लेख गरे।
उनका अनुसार कोवाङ–जोमसोम खण्डमा ५ वटा एक्साभेटर,५ टिपर ,ग्रेडर ,रोलर ,पानी ट्याङ्की ,क्रसर ,मिक्चर ,कालोपत्रे प्लान जस्ता उपकरण रहेको र उपल्लो मुस्ताङमा पनि उपकरण पठाइएको जानकारी दिए। उनले सडक म्याद थपिएपछि काम तोकिएको समयमा पूरा हुने बताए।