बेझाड– पाल्पाका विभिन्न स्थानीय तहमा कृषि तथा पशु शाखामा कर्मचारी अभावले सेवा प्रवाहमा समस्या परेको छ। स्थानीय तहमा दरबन्दी भए पनि कर्मचारी नहुँदा कृषि तथा पशु शाखाबाट हुने कामहरु प्रभावित बन्न पुगेको छ। रैनादेवी छहरा गाउँपालिकामा पशु सेवा शाखामा कर्मचारी शून्य छ।
कृषि शाखामा एक स्थायी र दुईजना करारमा कर्मचारी व्यवस्थापन गरिएको छ । पशु शाखामा कर्मचारी नहँुदा पशु विकासका विभिन्न कार्यक्रम गर्न समस्या परेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की बताछन्। ‘गाउँपालिकाको क्षेत्र ठूलो छ, त्यसैमा पशु शाखामा कर्मचारी खाली छन, कृषि शाखामा पनि पर्याप्त कर्मचारी नहुँदा पशु र कृषि क्षेत्रका काम गर्न कठिनाइ परेको छ, कृषकलाई कर्मचारी अभावले राम्रो सेवा दिन सकिएको छैन’, अध्यक्ष कार्कीले भने।
रिब्दिकोट गाउँपालिकामा पनि कृषि शाखा कार्यालय कर्मचारीविहीन भएपछि कृषि शाखाको काम प्रभावित भएको छ। काम चलाउनका लागि पशु शाखामा कार्यरत दुईजना कर्मचारीलाई जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताउछन्। कृषि शाखाका काम गर्न समस्या परेपछि गाउँपालिकाले कर्मचारी व्यवस्थापनका लागि करारमा विज्ञापन आह्वान गरेको अध्यक्ष जिसीको भनाइ छ।
आफ्नो शाखाबाहेक अन्य शाखा पनि हेर्नुपर्दा काम गर्न समस्या परेको पशु शाखाका सहायक प्राविधिक पारस पाण्डेयको गुनासो छ। ‘फरक क्षेत्र, कामै फरक हुँदा र विषयवस्तुको पनि ज्ञान नहुँदा काम गर्न दुःख भइरहेको छ, आफ्नै शाखाको काम गर्न भ्याइनभ्याई छ, त्यसैमाथि कृषि शाखाको पनि जिम्मेवारी थपिएको छ’, पाण्डेयले भने। माथागढी गाउँपालिकामा कृषि र पशु शाखामा स्थायी दरबन्दी खाली भएपछि करारमा नौजना कर्मचारी नियुक्ति गरी काम गरिएको अध्यक्ष सन्तोष थापामगर बताउछन्।
‘करारमा कर्मचारीले कृषि र पशु शाखा चलाए पनि कार्य सम्पादनमा समस्या परिरहेको छ, कर्मचारीको समस्याले सोचे अनुसारको कृषि र पशु क्षेत्रमा काम गर्न सकिएको छैन, अध्यक्ष थापाले बताएका छन्। पूर्वखोला गाउँपालिकामा एकजना पनि स्थायी कर्मचारी छैनन्। कर्मचारीविहीन भएपछि गाउँपालिकाले करारमा एकजना सल्लाहकारसहित कृषि शाखामा प्राविधिक छजना र पशु शाखामा पाँच प्राविधिक नियुक्ति गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताएका छन्।
तिनाउ गाउँपालिकामा कृषि शाखामा दुई स्थायी र एक जना करारमा कर्मचारी कार्यरत छन्। पशु शाखामा कर्मचारीविहीन भएपछि एकजना करारमा नियुक्ति गरी शाखाको जिम्मेवारी दिइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले जानकारी दिएका छन्। बगनासकाली गाउँपालिकामा पनि कृषि शाखामा स्थायी कर्मचारी शून्य छ। गाउँपालिकाले पाँचजना करारमा कर्मचारी नियुक्ति गरी सेवा दिइरहेको अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए।
पशु शाखामा दुई जना चौथो र पाँचौँ तहका र चारजना करारमा कार्यरत कर्मचारी छन्। रम्भा गाउँपालिकामा पनि कृषि शाखामा स्थायी दरबन्दी खाली छ । पशु शाखामा भने पाँचाैँ तहका एकजना स्थायी कर्मचारीबाट सेवा दिइएको छ। कृषि शाखा र पशु शाखाको काम प्रभावित नहोस् भनेर पाँचपाँचजना एक गाउँ एक प्राविधिक कर्मचारी परिचालन गरिएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। निस्दी गाउँपालिकामा कृषि शाखामा स्थायी दरबन्दीका कर्मचारी शून्य छन्।
शाखाको काम नियमित सञ्चालन गर्न चारजना नायब प्राविधिक सहायक कर्मचारी नियुक्ति गरिएको छ। पशु शाखामा भने पाँचौँ तहका एकजना मात्र कर्मचारीबाट सेवा दिइएको छ। रामपुर नगरपालिकामा एक अधिकृत, एक नायब प्राविधिक सहायक स्थायी दरबन्दीमा र दुईजना नायब प्राविधिक सहायक करारमा कर्मचारी कार्यरत छन् । पशु शाखामा एक अधिकृत, एक चौथो र एक पाँचौँ तहका कर्मचारी छन्। तानसेन नगरपालिकामा एकजना नायब प्राविधिक सहायक स्थायी दरबन्दीमा र तीनजना नायब प्राविधिक सहायक करारमा कर्मचारी कार्यरत छन् ।
पशु शाखामा एकजना अधिकृत दरबन्दीमा कर्मचारी छन्। मुलुकको आर्थिक समृद्धि कृषि र पशुपालनलाई लिने गरिन्छ । तर कृषि र पशु शाखा कार्यालयमा स्थायी दरबन्दीका कर्मचारी न्यून अवस्थामा छन्। स्थानीय तहमा तोकिए अनुसारका स्थायी कर्मचारी नहुँदा काम गर्न समस्या परेको गुनासो सम्बन्धित क्षेत्रका कृषकबाट आइरहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउछन्।
करारमा नयाँ नियुक्त भएका कर्मचारी भए पनि पर्याप्त नहँुदा पशुका कार्यक्रमहरु सञ्चालन गर्न समस्या परिरहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा चन्द्रबहादुर राना बताउछन्। स्थानीय तहमा पशु शाखामा एक अधिकृत, दुई नायब प्राविधिक सहायक र एकजना खरिदार कर्मचारी रहने व्यवस्था छ। तर पाल्पाका सबैजसो स्थानीय तहमा कर्मचारी पदपूर्ति हुन सकेको छैन। (रासस)