एजेन्सी– रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन्। क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेका थिए।
छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको हालै मृत्यु भएको हो। बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए। अहिले उनीहरु १९, २० र २१ वर्षका भए।
लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए। यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन्।
अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ। एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो। तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ।