एजेन्सी – संयुक्त राष्ट्र संघले यमनमा मध्यस्थता गरेको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङघ्न गरेको छ। एक बर्षमा दुई सय १७ नागरिकको हत्या गरेको यमन सरकार पक्षका सुरक्षाकर्मीले बताएको छ।
यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बन्दरगाह सहर होडेइडामा युद्धविरामपछि दुई सय १७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको छ। साथै, दुई हजार एक सय ५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन्।
राष्ट्र संघको पहलमा स्टकहोममा युद्धविराम गर्ने सहमति भएको थियो। युद्धविरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जाइन्टस ब्रिगेडले जनाएको छ।
युद्धविराम उल्लङ्घनका रिपोर्टपछि संयुक्त राष्ट्र संघले होडेइडा क्षेत्रमा युद्धविराम अनुगमनका लागि सरकारी र विद्रोही पक्षका प्रतिनिधिसहित आफ्नो टोलीलाई त्यहाँ पठाएको छ। उनीहरूले दुवै पक्षका सेना बसेका स्थलनजीकै पाँच केन्द्र खडा गरेर अनुगमन गरिरहेका छन्।
यमनमा चार वर्षदेखि चल्दै आएको युद्धका कारण करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसले आफ्नो सामान्य जीवनअनुसार गतिविधि गर्न नपाउँदा दुई करोडभन्दा बढी नागरिकले शिविरको जीवन बाँच्नुपरेको छ।
इरानको समर्थन पाएका हुथी विद्रोहीले होडेइडाका अधिकांश भागलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने साउदी नेतृत्वको गठबन्धन सेनाको होडेइडाका दक्षिणपूर्वी जिल्लामा उपस्थिति रहेको छ। स्टकहोम युद्धविराम यमनमा जारी युद्ध अन्त्य गर्दै शान्त एवं सामान्य राजनीतिक जीवनमा फर्किनका लागि गरिएको पहिलो चरणको सहमति हो।