photo– ( routine of nepal banda)
काठमाडौं– खेल खेलमात्रै नभएर एक भावना पनि हो। खेल दौरान हामिले अनेक भावनात्मक पलहरु देखिरहेका हुन्छौं नै! नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तगर्त महिला भलिबलकाे फाइनल खेल दौरान नेपालीले पनि प्रत्यक्ष रुपमा त्यस्तै एक पीडादायी पलको अवलोकन गरे।
नेपाली महिला भलिबल टोलीले पछिल्लो समय ऐतिहासिक सफलताहरु प्राप्त गर्दै सुधारोन्मुख खेलहरु प्रदर्शन गरिरहेको छ। केहि समय अघि सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन्सीपमा नेपाली महिला टोलीले ऐतिहासिक उपाधि उचाल्यो। उनीहरुलाई सरकारले पत्रसहित जनही ३ लाख रुपैंयाले सम्मान पनि ग¥यो।
हो, त्यहि महिला भलिबल टोलीले घरमै सञ्चालन हुने १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्छन् भन्ने आश गरिएको थियो। टोलीको प्रशंसनीय प्रदर्शनको कारण स्वर्णको आश गर्नु सामान्य नै थियो। शुरुवात खेलदेखि नै नेपाली महिला टोलीले स्वर्ण जित्ने खेल पनि प्रस्तुत गरिरहेका थिए। टोलीको बलियो र उत्कृष्ट प्रदर्शनले सबै हौसियका थिए।
खेलमा अपेक्षाकृत प्रदर्शन गर्दै नेपाली टोलीले चुनौतिपूर्ण अवस्थामा पनि जित निकाल्दै फाइनलको यात्रा पक्का ग¥यो। महिला भलिबलको यो अर्को ऐतिहासिक उपलब्धि साबित भयो। त्यसपछि नेपाललाई फाइनलमा चिर परिचित प्रतिद्वन्दी भारतललाई घुँडा टेकाउने अवसर पनि प्राप्त भयो। बलियो प्रतिस्पर्धी भारत र नेपालको उपाधि भिडन्त पक्का भएसँगै नेपालीहरुमा झन् उत्साह थपिएको थियो। खेलाडीहरुमा पनि अवसरसँगै ठूलो चुनौति तेर्सिएको थियो। जे होस् नेपाली चेलीहरु उच्च आत्मबलका साथ त्यो चुनौतीको सामना गर्न तयार भए।
मंगलबार साँझ महिलो भलिबलको खेल हेर्न र चेलीहरुको हौसला बढाउन कभर्ड हलमा दर्शकको उत्साहजनक उपस्थिति रह्यो। खेल शुरु भएसँगै दर्शकले चिच्याउँदै नेपाल–नेपाल भनिरहेका थिए। उपस्थित सबैको ढुकढुकी बढिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो। बाहिर बसेर खेल हेर्दै खेल हेर्दै गर्दा नेपाल–नेपाल शब्द सुन्ने र चिच्याउनेहरुको जिउनै सिरिङ्ग भइरेहको थियो भने कोर्टमा देशको लागि खेल्नेहरुको मुटुको धड्कन सायद अनुमान गर्न पनि सकिँदैन होला।
खेलको पहिलो सेटमा नेपाल भारतसँग १७–२५ ले पराजित भयो। यसपछि नेपालले कडा टक्कर दिन नसकेको होकि भन्ने अनुमान पनि गरियो। तर हटी हैन डटी लड्ने नेपालीको बानी हुन्छ भन्ने कुरा नेपाली टोलीले त्यो कोर्टमा पुनः सम्झाइदिए। पहिलो सेटमा पराजित भएपछि मनमा खिन्नता बाध थरेरै भएपनि दर्शकले नेपाल नेपाल भन्न छोडेका थिएनन् न त खेलाडीले मैदानमा नै हार स्विकारेका थिए।
नेपालले कडा टक्करकाबीच दोस्रो सेटमा जित निकाल्दै खेलमा पुनरागमन ग¥यो। दोस्रो सेट २५–२३ ले जितेसँगै फेरि एकपटक हौसियौं हामी सबै। मनोबल उच्च बनाइसकेको नेपालले तेस्रो सेटमा २५–२१ ले फेरि जित निकाल्दै भारतमाथि दबाब बढायो। त्यससँगै सबैको मनमा नेपालले खेल जित्ने आशा ह्यात्तै बढ्यो। तर चौथो सेटमा नेपाल२०–२५ ले हारेसँगै नेपालको आशा फरी निराशातिर धकेलियो। तर अन्तिम लडाँई भने अझै बाँकि थियो।
खेलाडीहरु आफ्नो सम्पूर्ण क्षमता देशलाई ऐतिहासिक जित दिलाउन समर्पण गर्न तयार देखिन्थे। त्यससँगै शुरु भयो पाँचौ तथा निर्णायक सेट। तर दुर्भाग्य भनौं दबाबमा देखिएको नेपाली टोलीमाथि भारत निर्णायक सेटमा सहजै हाबी भयो र नेपाल ६–१५ ले पराजित भयो। ऐतिहासिक जितको नजिक पुगेर फेरी एकपटक नेपाल चुकेको अनुभव भयो सबैमा।
खेल हो एक टिमले हार्नु नै थियो, नेपाल ह¥यो। तर हारपछि कभर्ड हलमा जुन माहोल बन्यो त्यसले सबैलाई भावविह्वल बनायो। स्वर्ण गुमाएको पीडा नेपाली महिला टोलीले आफैंभित्र दबाउन सकेनन्। उनीहरुको आँखामा छचल्किएको आँशुले खेल हेर्न कभर्डहलमा छिरेका सबैलाई रुवायो। खेलाडीहरुले आँशुले कभर्डहलमा सन्नाटा छायो। जे होस् नेपाली महिला टोलीले खेल हारेर पनि सबैको मन जिते। त्यो पल नेपालीकाे नजरमा खेल हारेर पनि जितेको पल बन्यो।