विराटनगर –इमरजेन्सी अगाडि उपचार पर्खदै दुई बिरामी बसेको तीन दिन भयो। सरकारी स्वामित्वमा रहेको कोसी अस्पतालका इमरजेन्सी वार्ड अगाडिको बाटोमा चिकित्सकको ओहोर दोहोर भने बाक्लै हुन्छ।
चिकित्सकले देख्ने गरी बाटोमा बसेका दुई बेवारिसे बिरामी उपचार पाइन्छ की भन्ने आशामा छन्। उनीहरुको उपचारमा अस्पतालकाे भने केही चासाे नै छैन।
भर्खरै जिम्मेवारी सम्हालेका संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल उपचार नपाएर नेपालीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउँछन्। तर कोसी अस्पताल अगाडि दुई विरामी मृत्युसँग लडिरहँदा अस्पतालले चासो दिएका छैनन्। सिकिस्त बिरामी भएका उनीहरुसँग पैसा र आफन्त साथमा छैनन्।
विराटनगरका ४२ वर्षीय दिलिप मुखिया छेउछाउ देखिनेसँग उपचारका लागि याचना गर्छन्। तर पथरीका करिब ५५–६० वर्षिय पुरुष भने बोल्न सक्दैनन्। उनले हातको इसारा मात्र गर्न सक्छन्। विराटनगरको अशोक चोक घर भएका ४२ वर्षिय मुखियालाई तीन दिनअघि भाइले ल्याएर छाडेर गएका हुन्। पथरीका वृद्धलाई भने कसैले ल्याइदिएका हुन्।
भाइले छाडेपछि अस्पतालका कर्मचारीले दिलिपलाई घिसारेर इमरजेन्सी अगाडिको फलैंचामा छाडिदिएका छन्। पथरीका पुरुष भने इमरजेन्सी अगाडिबाट बग्ने निकास नालाको स्वाभमाथी लडिरहेका छन्। लागूऔषधमा फसेका कारण परिवारबाट तिरस्कृत भएका मुखिया आफ्नो इच्छामा बाच्ने भएको बताउँछन्। चिसो भुँईमा लडिरहेका उनको याचना अस्पतालले सुनेको छैन्। उनको दुइवटै खुट्टामा गम्भिर चोट छ। उपचार नपाएका कारण उनको खुट्टाको घाउ बढ्दै गएको छ।
इमरजेन्सी प्रवेश द्धार अगाडि छटपटाइ रहेका पथरीका करिब ५५ वर्षीय पुरुषको बोली बुझिँदैन्। उनी इसाराका भरमा उपचार गरिदिन भन्छन्। उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलका उपचारका लागि आएका व्यक्तिलाई अस्पतालले बेवारिसे अवस्थामा छाडेको बताउँछन्। यो अवस्थाका पथरीका बिरामीलाई कसैले ल्याएर छाडिदिएका हुन्।यता अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर गुणराज लोहनी टेलिफोन उठाउँदैनन्।