काठमाडौं — १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले बराबरी खेलेका छन्। बुधबार भएकाे खेलमा नेपालले अन्तिम समयमा सम्हालिन नसक्दा खेल १–१ गाेलकाे बराबरीमा सकिएकाे हाे।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले सुरुवाती अग्रता बनाएको थियाे। नेपालका लागि कप्तान सुजल श्रेष्ठले खेलको ३५ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थिए। खेलअवधिभर नेपालले श्रीलंकालाइ दबाब राखेकाे थियाे। नेपालमा श्रीलंकाविरूद्ध लगातार आक्रमण गरेकाे थियाे तर पटकपटककाे अवसरलाइ सदुपयाेग गर्न सकेन।
खेलकाे अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा अंक बाँड्न बाध्य भयाे। श्रीलंकाका जुड सुपानले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रिकिकमा गोल गरेपछि खेल बराबरीमा आएको हाे।
नेपालले अर्काे खेल माल्दिभ्सविरूद्ध मंसिर २० गते खेल्नेछ। पहिलो खेलमा भुटानलाई ४–० ले हराएको नेपालको यस बराबरीसँगै ४ अंक भएको छ। भुटानको २ खेलमा ३ अंक छ। माल्दिभ्स र श्रीलंकाको २–२ अंक छ भने बंगलादेशको १ अंक छ।