एजेन्सी– नेपालका सुपरस्टार नायक अनमोल केसीलाई चलचित्रमा लिन निर्माता निर्देशक मरिहत्ते नै गर्छन्। अहिले उनी अमेरिकामा छन्। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा सहभागी हुन अनमोल अमेरिका पुगेका थिए। अब, उनी चलचित्र ‘क्याप्टेन’को विशेष शोमा सहभागी भएर नेपाल फर्किनेछन्।
अनमोलले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा ‘स्टार अफ दि इयर’ को अवार्ड प्राप्त गरे। यो अवार्ड पाउनु भन्दा केही दिन अगाडि मात्र उनले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा ‘पपुलर नायक’ को अवार्ड जिते। यसरी, एकपछि अर्को अवार्ड जित्दै गर्दा नायक अनमोल केसीलाई अवार्ड पाउने कार्यक्रममा पुग्ने गरेको आरोप समेत लाग्ने गरेको छ। अनमोल भन्छन्,‘अवार्ड भनेको कुनै पनि कलाकारलाई हौसला दिनका लागि गरिने सम्मान हो। मैले, अवार्डलाई मलाई गरिएको सम्मानको रुपमा हेरेको छु।’
उनले अगाडि भने, ‘अवार्ड लोभ गर्दैमा पाइन्छ भन्ने म मान्दिनँ। किनकी, अवार्ड पाउने लोभ त धेरैलाई हुन्छ होला। तर, लोभ गर्दैमा पाइदैन।’ गतबर्ष चलचित्र ‘क्याप्टेन र ए मेरो हजुर ३’मा काम गरेका अनमोल अब यो बर्ष चलचित्र ‘ए मेरो हजुर ४’मा काम गर्ने तयारीमा छन्। यो चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु हुनेछ।