काठमाडौं–नायक दयाहाङ नेपाली चचित्रमा एकदमै रुचाईएका नायक हुन्। राइले चलचित्र निर्देशन गर्ने चर्चा बेला–बेलामा सुनिन्छ। तर, दयाले अहिलेसम्म चलचित्र निर्देशन गर्न आँट भने गरेका छैनन्। यो बिषयमा दया भन्छन्,‘कसैले मलाई यो क्षेत्रमा किन आइस् भनेर सोध्यो भने मैले दिने जवाफ निर्देशक बन्न भन्ने नै हुन्छ । मलाई कलाकार बन्नु नै थिएन। तर, जब मैले निर्देशक बन्न अभिनयको पनि ज्ञान हुनुपर्छ भनेर अभिनयको तालिम लिन थालेँ, यसपछि वुझे कि म अभिनय गर्न जन्मिएको रहेछु। निर्देशन गर्न सक्छु भन्ने त मेरो भ्रम मात्र रहेछ।’
उनी अगाडि थप्छन्, ‘मैले बच्चादेखि गरिरहेको गतिविधी त अभिनय गर्नकै लागि रहेछ। तर, मैले आफूलाई चिनाउनका लागि कहिले गीत लेखे, कहिले के गरेँ। मैले आफूलाई चिनाउन गलत माध्यम रोजेको रहेछु भन्ने लाग्छ।’ दयाले निर्देशक बन्ने कुरालाई भने अस्विकार गरेनन्। अगाडि भने, ‘म चलचित्र निर्देशन पक्कै पनि गर्छु। म भित्र रहेको निर्देशक बन्न सक्छु भन्ने भ्रम चिर्नका लागि पनि म निर्देशक बन्छु। परिपक्क तरिकाले निर्देशन गर्न सक्छु भन्ने भ्रम म भित्र छ।’
उनले, कलाकारमा सबै कुरा खतरा नै गर्न सक्छु भन्ने भ्रम रहने समेत बताए। दयाले भने, ‘कलाकार लोभी हुन्छन्। मैले गरेको काम खतरै हुनुपर्छ भन्ने लोभ कलाकारमा हुन्छ। आफू भित्रको क्षमता भने थाहा हुँदैन। कलाकारले क्षमता अनुसारको काम गर्नुपर्छ। कल्पना त हामी ठूलो गर्छौ। तर, क्षमता चिन्न सक्दैनौ। यो भूमिका वा त्यो भूमिका त म बबाल नै गर्छु भन्ने ठूलो भ्रम हामीमा हुनसक्छ। यही भ्रममा बाँचिरहँदा हामी आफूलाई ‘अनलक्की’ पनि महशुश गर्छौ।’
दयाले कलाकारलाई आफ्नो क्षमता अनुसार काम गर्न सुझाव दिए। नसक्ने काम खतरै गर्छु भनेर जिम्मा लिनु भन्दापनि त्यसलाई सक्दिन भनेर हात झिक्नुपर्ने सुझाव उनको छ। दयाले आफूलाई सफलता भन्दा बढी असफलताले सिकाएको बताए । उनी भन्छन्, ‘मेरा सबै चलचित्र बक्स अफिसमा हिट भैदिएको भए मैले आफूलाई असामान्य सोच्न सक्थेँ। तर, बजारले असफल भनेका चलचित्रलाई विश्लेषण गर्दा मैले सबैभन्दा राम्रो काम त्यसमा पो गरेको छु कि? मानिसको लागि सफलता क्षणिक न हो, आज छ भोली नहुन पनि सक्छ।’ दयाले लगानी गरेको चलचित्र ‘माछा माछा’ मंसिरको २० गतेबाट रिलिज हुँदैछ। यो चलचित्रबाट ठूलो रकम कमाउँछु भन्ने आफूलाई नलागेको दया बताउँछन्।