काठमाडौं– केही दिन अगाडि मात्र चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको थियो। सार्वजनिक ‘चरीले काफल टिप्यो’ बोलको गीतले रिलिज भएको ६ दिनमा नै १० लाख बढी भ्युज पाएको छ। यो भनेको निकिताको लागि एकदमै नसोचेको सफलता हो। भिडियोमा नायक विराज भट्ट र पूर्व मिस नेपाल निकिता चण्डकलाई फिचरिङ गरिएको छ।
केही समयको विश्रामपछि नेपाली चलचित्रमा आएका विराजलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन्। उक्त गीतको भिडियोमा आएका प्रतिक्रियाले पनि दर्शक उनलाई प्रतिक्षा गरिरहेका छन् भन्ने देखाउँछ। तर, युटुबमा आउने भ्यूज र प्रतिक्रियाले मात्र पनि चलचित्रको मेकर मख्ख परिहाल्नु घातक हुनसक्छ। किनकी, युटुबमा प्रचार सामाग्री हिट भएर हलमा दर्शक नै नपाएका चलचित्रको संख्या धेरै छ। युटुबमा प्रतिक्रिया दिने दर्शकले डेब्यू नायिका निकिता चण्डकको पनि प्रशंसा गरेका छन्। धेरैले निकिताले उत्कृष्ट काम गरेको उल्लेख गरेका छन्। निकिताको नृत्य र उनको हाउभाउलाई दर्शकले राम्रो भनेका छन्।
एउटा गीतमा गरेको अभिनयकै आधारमा निकितालाई अब्बल कलाकार भनिहाल्न मिल्दैन। तर, उनले यो गीतको भिडियोमा आफूलाई अब्बल सावित गर्ने आधार भने देखाएकी छिन्। राजनराज सिवाकोटीको शब्द तथा संगीतलाई पनि दर्शकले रुचाएका छन्। गीतमा राजनराज र मिलन आमात्यको स्वर छ। निकिता चण्डकका लागि यो चलचित्र विशेष पनि छ। किनकी, चलचित्र क्षेत्रमा लागेर अधिकांश मिस नेपालका विजेताहरु असफल भैरहेको अवस्थामा उनका लागि यो ट्याग हटाउनुपर्ने चुनौती छ। माघ २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई विराजले निर्देशन गरेका हुन्।