एजेन्सी– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। बुधबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई २–० गोलले हराएको हो।
पीएसजीको जितमा फरवार्डद्वय नेयमार जुनियर र एमबाप्पेले गोल गरेका थिए। पीएसजीको घरेलु मैदानमा भएको खेलको ४१ औं मिनेटमा नेयमारले गोल गरेपनि भिएआरले मान्यता दिएन र पीएसजी अग्रता लिनबाट चुक्यो। पाहुना टोलीलाई लगातार दबाबमा राखेको पीएसजीले दोस्रो हाफको ५२ औं मिनेटमा शुरुवाती अग्रता बनाउन सफल भयो। पीएसजीका लागि एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गरेका थिए।
खेलको ८५ औं मिनेटमा निकोलस पालोसिसले इकार्डीलाई फल गरेपछि पीएसजीले पेनाल्टी पायो। स्टार नेयमारले पेनाल्टीको सदुपयोग गरेसँगै पीएसजीले अग्रता दोब्बर बनायो। त्यसपछि खेलमा अन्य गोल नहुँदा पीएसजीले २–० गोलले विजयी भयो।
यस जितसँगै पीएसजी १५ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पराजित नान्टेस २३ अंक जोडेर नवौं स्थानमा छ।