तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– चर्चित नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठलाई एकसाथ चलचित्रमा नलिई निर्मातालाई सुखै छैन भन्ने कुरा त अब नयाँ रहेन। किनकी, सृष्टिलाई नखेलाएसम्म सौगातले खेल्न नमान्ने खबरहरु चलचित्रकर्मी र मिडिया कर्मीका लागि नयाँ रहेनन्। यो क्रम एकपछि अर्को हुँदै दोहोरिरहेको छ।
तर, यो जोडीले एकपछि अर्को चलचित्रमा काम गर्न लागेको खबर भने सार्वजनिक भैरहेका छन्। यो जोडीले गोपिकृष्ण मुभिजले बनाउन लागेको नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छ। ‘माइकल अधिकारी’ नाम दिएर गोपिकृष्ण मुभिजले नयाँ चलचित्र निर्माण गर्न लागेको हो। यो चलचित्रमा पनि सौगातकै अड्डीका कारण सृष्टि अनुवन्धित भएको गसिप सुरु भैसकेको छ।
यो जोडीले चलचित्र ‘सँगसँगै’ मा पनि काम गर्ने पक्का भैसकेको छ। यो जोडीले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले’ तिहारमा रिलिज भएको थियो। यो चलचित्रमा पनि सौगातकै कारण श्रृष्टी अनुवन्धित भएकी थिइन्। शुक्रबारदेखि रिलिज हुने पक्का भएको चलचित्र ‘माछा माछा’ मा सौगात मल्ल मुख्य भूमिकामा छिन्। श्रृष्टीले एउटा गीतमा आइटम नृत्य गरेकी छिन्। केही महिना अगाडि सौगातले श्रृष्टी नै राख्नुपर्ने अडान लिएका कारण चलचित्र ‘रामराम’ बाट सौगात नै बाहिरिएको खबर सार्वजनिक भएको थियो। यो जोडीले अभिनय गरेको ‘मासुभात’ रिलिजको तयारीमा छ।
सौगातकै कारण निर्माता उनीसँगै श्रृष्टीलाई नै लिनुपर्ने अवस्थामा छन्। तर, सौगात मल्लको चलचित्रले राम्रो व्यापार नगरेको धेरै भैसकेको छ। ‘पोई पर्यो काले’ को औषत सफलतामा सौगात र श्रृष्टीको भूमिका खासै देखिदैन। किनकी, यो चलचित्रको प्रचारमा यो जोडीले अनुहार पनि देखाएन।
श्रृष्टीले अभिनय गरेका चलचित्र पनि बक्स अफिसमा हिट छैनन्। सौगात र श्रृष्टीलाई चलचित्रमा लिने वित्तिकै चमत्कार भैहाल्ने अवस्था अहिले छैन। धेरै चलचित्रमा काम गरेका कारण सौगातले आफ्नो स्टारडमको लय गुमाइसकेको अवस्था हो। यस्तो अवस्थामा सौगात र श्रृष्टी एकपछि अर्को चलचित्रमा अनुवन्धित भएका छन्। आखिर, यी दुइमाथि निर्माताले जोखिमपूर्ण लगानी गरिरहेका छैनन् त?