काठमाडौं– ‘प्रेम गीत’ चलचित्र भन्न वित्तिकै नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको जोडीलाई धेरैले नाम लिन्छन्। ‘प्रेमगीत–३’ अहिले छायाँङ्कन भइरहेको फिल्म हो। निर्माण घोषणा समय देखिनै चर्चामा रहन सफल फिल्मले छायाँङ्कन सँगसँगै प्रचार प्रसारलाई पनि अगाडि बढाईरहेको छ।
यस्तैमा निर्माण युनिटले अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोष्टरमा अभिनेता श्रेष्ठ राजाको गेटअपमा क्रोधित अवतारमा देखिएका छन्। फिल्मको अहिले मनाङ् आसपासका स्थानमा छायाँकन भइरहेको छ। राजधानीमा एक भव्य दरबारको सेट बनाएर ४० प्रतिशत छायाँङ्कन गरिएको फिल्म केही दिन पहिले आउटडोर छायाँङ्कनका लागि मनाङ् पुगेको हो।
सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्बृद्धि शाही ठकुरीलगायतका कलाकारको मुख्य अभिनय रहनेछ।
प्रेमकथामा बन्न लागेको यो फिल्मको रिलिज मिति चैत २८ गते तोकिएको छ। सेन फिल्मस् प्रोडक्सनको व्यानरमा बन्न लागेको फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत छ। फिल्म निर्माणमा सन्तोषसँग चक्र बहादुर चन्द, डम्बर विक्रम सेन, कुमार सेन र ओएसआर डिजिटलले सहकार्य गरेको छ।