काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेटमा नेपालले भुटानविरुद्ध कीर्तिमानी जित निकालेको छ। नेपालले भुटानविरुद्ध १ सय ४१ रनको फराकिलो जित निकालेसँगै कीर्तिमान बनाएको हो।
यो नै नेपालले टी–२० क्रिकेटमा हासिल गरेका हालसम्मकैे सबैभन्दा ठूलो अन्तरको जित हो। यसअघि नेपालले सन् २०१४ को टी–२० विश्वकपमा नेपालले हङकङलाई ८० हराएको ठूलो जित रहेको थियो। टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रनमा समेटियो। उसका लागि मिक्यो दोर्जेले २७ तथा सोनमले १५ रन जोडे। नेपालको बलिङमा पारस खड्काले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए भने पवन सरार्फ, ललित नारायण राजवंशी र करण केसीले १–१ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो। नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले टी–२० करियरको पहिलो शतक प्रहार गर्दै ५५ बलमा १ सय ७ रन बनाएका थिए। टी–२० इन्टरनेशनलमा नेपालको यो दोस्रो शतक हो। पहिलो शतक भने पारस खड्काले सिंगापुरविरुद्ध हानेका थिए।
ओपनर पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ८.२ ओभरमा १ सय ८ रनको शतकीय साझेदारी गरेका थिए। जुन साझेदारी पहिलो विकेटका नेपालल गरेकोे टी–२० आइको उच्च साझेदारी हो।
नेपालको पारीमा पारस खड्काले २८ बलमा ९ चौका र १ छक्का सहित ५७ रन बनाए भने दीपेन्द्र सिंह ऐरी २७ बलमा ४ चौका र २ छक्का सहित ४५ रनमा नट आउट रहे। भुटानका कर्मा दोर्जेले २ विकेट लिएका थिए। नेपाल पहिलो खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। नेपालले अर्काे खेलमा शुक्रवार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।