काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘माछा–माछा’ को बुधबार साँझ प्रिमियर भएको छ।कमलपोखरी स्थित बिग मुभिजनमा आयोजित प्रिमियरमा फिल्मका कलाकार र रंग पत्रकार बाहेक अन्य सेलिब्रेटीको उपस्थिति न्युन रहेको थियो।
प्रिमियरमा फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ। प्रिमियरमा सहभागी अधिकांशले फिल्म ठिक–ठिकै भएको बताए। अपराधसँग कमेडी बिषय जोडीएको फिल्म रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर बनाएका हुन्। कार्यक्रममा निर्माता दयाहाङ राइले फिल्मबाट आफूलाई ठुलो कमाई हुन्छ भन्ने आस नभएको बताए। ‘अहिले कुनै फिल्मले पनि व्यवसाय गरेको छैन’ राइले भने ‘लगानी त सुरक्षित हुन्छ होला।’
तीन युवाले शहरिया जीवनमा स्थापित हुन रोज्ने अपराधको बाटो र त्यसमा गर्नुपर्ने संघर्ष फिल्मले कथा बनाएको छ। सुनिल गुरुङले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्ट लगायतको अभिनय रहेको छ।