रसुवा– रसुवामा जंगली भालुको त्रासका कारण स्थानीयबासीको जनजीवन प्रभावित भएको छ। रसुवाको हिमाली क्षेत्रमा चिसोपन बढेसँगैे न्यानो स्थान खोज्दै जङ्गली भालु बेंसीतर्फ झरेसँगै भालुको आतंक बढेको छ।
अहिलेसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाएको जनाइएको छ। जंगली भालुको आतंक बढ्दै गएपछि स्थानीयको सुरक्षाका लागि रसुवामा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार जंगली भालु घरमै पस्ने गरेका कारण स्थानीयहरु त्रसित भएकाले सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो। नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ।