काठमाडौँ, १७ माघ – परिकल्पना तथा निर्देशक घिमिरे युवराज रहेको नाटक ‘बाथटब’ कुमार नगरकोटीको लेखनमा बनेको छ। उनी अरूभन्दा भिन्न र फरक शैलीले प्रस्तुत हुने गर्छन्। यसअघि उनले ‘कोमा अ पोलटिकल सेक्स’मा पनि राम्रो छाप छोडिसकेका छन्। लेखनमात्र नभई कलाकारका रूपमा समेत काम गरेका नगरकोटी यसपटक भने नाटककार मात्र हुन्।
त्यस्तै ‘बाथटब’मा कलाकार नीर शाह, बज्रेश खनाल र भूषिता वशिष्ठको भूमिका रहेको छ। बालकृष्ण समको ‘मुटुको व्यथा’ मञ्चनपछि रङ्गमञ्चबाट टाढिएका कलाकार नीर शाह करिब ३२ वर्षपछि पुनः ‘बाथटब’मा फर्किएका छन्। त्यस्तै हिरो बन्ने शौख पालेका अर्का कलाकार बज्रेश पटकथाकार बनेका छन्। उनको अभिनयको भोक कतिसम्म छ भन्ने कुराको पूर्ण जानकारी ‘बाथटब’ले दिएको छ।
त्यसैगरी ‘बाथटब’मा लामो समयसम्म पत्रकारितामा रमाएकी लेखिका तथा पत्रकार भूषिता हाल अभिनेत्रीका रूपमा देखिएकी छन्। केही महिनाअघि ‘आर्ट काउन्सिल’मा प्रस्तुत एउटा खुला नाटकमा पनि उनले अभिनय गरेकी थिइन्। तीन कलाकार केन्द्रित नाटक ‘बाथटब’मा कलाकारहरूले निकै राम्रो प्रतुति दिएका छन्।
जीवन र जगतको विसङ्गति र कुरूपता प्रस्तुत गरेको यस नाटकमा प्रेम, प्रश्न, विचार, विचलन, जीवन, चाहना, आशा निराशा, राजनीति र दुराचारको समस्यालाई नाटकले उजागर गरेको छ। बत्तीसपुतलीस्थित शिल्पीको गोेठाले थिएटरमा मञ्चन भइरहेको नाटक ‘बाथटब’ माघ २८ गतेसम्म मञ्चन हुनेछ।