काठमाडाैं _ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे। उनले भने,‘देशमा यत्रो समस्या छ, यसका बारेमा संसदलाई जानकारी हुनुपर्छ। यस विषयमा संसदमा छलफल हुनुपर्ने हो।’
उनले संविधानमा स्पष्ट रुपमा लेखिएको सभामुख र उपसभामुख एउटै दलको हुनुहुँदैन भन्ने व्यवस्थालाई वर्तमान सरकारले बेवास्ता गरेको र संविधान नै नाघेर अघि बढेको पनि आरोप लगाए। उनले भने,‘अहिले संविधान नाघिएको छ। संविधानको मर्म र भावनालाई कुल्चने काम भयो। हामीले यसका विरुद्धमा संसद र अन्य ठाउँमा सशक्त आवाज उठायौं।’
जोशीले सबै दल मिलेर संविधान बनाएको बताउँदै यसलाई पालना गर्नु सबैको कर्तव्य भएको सुनाए। उनले भने,‘सरकारले संविधानको मर्म र भावनालाई ग्रहण गरोस्।’ संवैधानिक परिषदमा पनि सबैलाई समेटेर बढ्नुपर्नेमा अहिले सरकार दुई तिहाईको दम्भमा पेलेर अघि बढ्न खोजेको उनको टिप्पणी छ।
उनले भने,‘प्रतिपक्षी भनेको वेटिङ गभर्मेन्ट हो। अहिले सरकारले विभिन्न विद्येयक ल्याउँदापनि लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चेर र यसको विरुद्धमा ल्याएको छ।’ जोशीले सभामुखमा आफ्नो पार्टीको प्रमुख दाबी रहेको सुनाए। उनले भने,‘हामी अपोजिशन पार्टी हौं, सभामुखमा हाम्रो दाबी छ।’
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूभाग भएकोले सरकारले कुटनीतिक पहलमार्फत सीमा विवादको समाधान गर्नुपर्ने बताए। उनले भने,‘तर, सरकारले अहिलेसम्म कुटनीतिक पहल चाल्नको लागि कुनै गाम्भिर्यता देखाएन्। यो अवधिमा अहिलेसम्म एउटा पत्रमात्रै पठाएको छ। जनतालाई जानकारी दिनुपर्छ। यो विषयमा संसदलाई पनि थाहा दिनुपर्छ।’