काठमाडौं– गृह मन्त्रालयले यौन शोषणको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।
एसएसपी राणा विरुद्ध आवश्यक अनुसन्धान गर्न र कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार गरेको हो। प्रहरी अधिकारीको अनुसार गृहले प्रहरी प्रधानकार्यालयलाई पठाएको पत्र मंगलबार नै प्राप्त भएको र यसको प्रकृया अघि बढाइएको छ।
संघीय प्रहरी इकाइ धरानमा कार्यरत एएसपी राणामाथि धरानकी एक महिलाले यौन शोषण गरेको भन्दै उजुरी दिएकी थिइन। ती महिला कात्तिकको अन्तिम साता उजुरी लिएर गृह मन्त्रालय पुगेपछि गृहले अनुसन्धानका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरेको हो।
प्रहरीको अनुसार बिगत लामै समयदेखि राणा र ती महिलाबीच चिनजान र सम्बन्ध भएपनि पछिल्लो समय उनीहरुबीच विवाद शुरु भएको छ। राणा ३ महिनादेखि संघीय प्रहरी एकाइ धरानमा कार्यरत छन्। उनी धरान पोस्टिङ भएपछि सम्बन्धमा चिसोपना शुरु भएको र महिलाले उजुरी दिएको पाइएको प्रहरी अधिकारीले जनाएको छ।
यता आरोपित राणाले भने आरोप अस्वीकार गर्दै अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन आफूले पनि सहयोग गर्ने बताएका छन्।