काठमाडौं– आगामी पुस २ गते नेपालमा पहिलो पटक फ्रिक्वेन्सीको अक्सन (बोलकबोल) हुने भएको छ। बिहीबार नियामक नेपाल दुरसञ्चार प्राधिकरणले १८०० मेगाहर्ज फ्रिक्वेन्सीको अक्सन पुस २ गते हुने सूचना सार्वजनिक गरेको हो।
गत आइतबार बसेको प्राधिकरण बोर्ड बैठकले लामो समयदेखी रोकिएको अक्सन प्रकृयालाई पुनः अघि बढाउने निर्णय लिएको थियो। सोही निर्णय अनुसार फ्रिक्वेन्सी अक्सनको लागि गठीत समितिले १८०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सीको अक्सन गर्ने भएको हो।
पहिला प्राधिकरणले ९००, १८०० र २१०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी अक्सनको काम अघि बढाएको थियो। तर, अक्सनको प्रक्रिया विगत १० महिना देखी ठप्प भएको थियो। प्राधिकरणले अब पहिलो चरणमा १८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनमार्फत सेवा प्रदायकलाई उपलब्ध गराउने भएको छ।
यसअघि १८०० ब्याण्डमा भएको बोलकबोलका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र एनसेल प्रालिले दिएको निवेदनको आधारमा प्राधिकरणले नेपालमै पहिलो पटक फ्रक्वेन्सी अक्सन गर्नेछ।
हाल पर्याप्त मात्रामा फ्रिक्वेन्सी नपाउदा प्रयोगकर्ताले नाम मात्रको फोरजी इन्टरनेट चलाइरहेका छन्। त्यस्तै अर्को तर्फ फ्रिक्वेन्सी वापत राज्यले पाउने करोडौँ रुपैयाँ राजश्व समेत गुमिरहेको छ। बोलकबोलमार्फत फ्रिक्वेन्सी प्राप्त गरेको खण्डमा अवश्य पनि एनसेल र नेपाल टेलिकमको फोरजी इन्टरनेटको स्पिड कम्तिमा दोब्बर बढ्नेछ।