दोलखा– पटक–पटक घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई दोलखाको प्रजिअबाट हटाइएको छ। गृह मन्त्रालयले उनलाई पदमुक्त गरेको बताएको छ।
रिजालले सार्वजनिक मुद्दा लागेका दुई वटा घटनाका अभियुक्तसँग रकम लिई सार्वजनिक मुद्दा नचलाउने निर्णयसमेत गरेका थिए। उनले ती अभियुक्तसँग रसिद काटेर रकम लिए पनि घटना बाहिरिने डरले बिहीबार नै रकम फिर्ता गरेका थिए।
उनीमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप लगाएका थिए।
पीडितहरुले बिहिबार पत्रकार सम्मेलन गरेर रिजालले पटक–पटक घुस लिएको बताएका थिए। अहिले रिजालले जिल्ला छोडिसकेको बताइएको छ।