उदयपुर — जिल्लाको गाईघाट– दिक्तेल सडक खण्डको कालोपत्रेको काम द्रुत गतिमा भईरहेको छ।
गाईघाट दिक्तेल सडक योजना शाखा प्रमुख पशुपति ज्ञवालीका अनुसार त्रियुगा नदीको पुलदेखि गाईघाट बजार मुख्य चोकसम्मका सडक कालोपत्रेको काम ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए।
संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत १० करोड बजेटमा सूर्य कन्ट्रक्सनले २०७३ जेठमा ठेक्का लिएको सडक स्तरोन्नतिको काम सोही वर्षको कात्तिक महिनाबाट शुुरु गरेको थियो।
ज्ञवालीका अनुसार गाईघाट बजारभित्र पर्ने ९ सय ४० मिटर लम्बाई र २५ मिटर चौडाई रहेको सडकको कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। हाल सडकमा रोलिङ गर्ने काम भइरहेकाले मंसिर महिनाभित्र कालोपत्रेको काम सकिने डिभिजन कार्यालयले जनाएको छ।
सडक समयमै कालोपत्रे हुन नसक्दा दैनिक बजार क्षेत्रमा आवतजावत गर्न सकस हुने गरेको त्रियुगा नगरपालिका ३ मोतिगडाका स्थानीय मनोन बुढाथोकीले बताए। सडक स्तरोन्नति भएसँगै सहज आवतजावत सहज हुने भएपछि स्थानीयवासीहरू हर्षित भएका छन्। ठेकेदारले समयमै काम नसकी बीचमै छोडेर भागेपछि सम्झौता १ वर्षका लागि थपिएको थियो।