काठमाडौँ, १७ माघ – बलिउड सुपरस्टार शाहरुख खानले चलचित्र ‘सारे जहाँ से अच्छा’ छाडेका छन्। सन् २०१८ को अन्त्यतिर खान अभिनित चलचित्र ‘जिरो’ बक्स अफिसमा धराशयी भएको थियो।
यसलगत्तै अन्तरिक्षयात्री राकेश शर्माको बायोपिक ‘सारे जहाँ से अच्छा’को छायाङ्कन शुरु हुने खबर बाहिरिएको थियो। तर, अचानक खानले चलचित्र छाडेको खबर आएको छ।
अब यो ठूलो बजेटको चलचित्रमा अभिनय गर्न कयौँ कलाकारको भीड लागेको छ। केही दिनयता उक्त चलचित्रलाई लिएर कुनै न कुनै खबर आइरहेको छ। शाहरुख निक्लिएपछि चलचित्रको प्रोडक्सन टिम यसमा कुनै नयाँ हिरो राख्ने सोचमा रहेको छ भने केही अभिनेताको नाम पनि बाहिर आएको छ।
चलचित्रमा लिड रोलका लागि कार्तिक आर्यन र विक्की कौशलमध्ये एक हुनसक्ने चर्चा आइरहँदा अब यो दौडमा एक नयाँ नाम जोडिएको छ। बलिउड लाइफका अनुसार ‘स्त्री’का स्टार राजकुमार रावलाई पनि महेश मथाईको यो चलचित्रका लागि अप्रोच गरिएको छ। राजकुमार यो चलचित्र गर्न सकारात्मक देखिएका छन्।
तर, शाहरुखले यस चलचित्र छाडेपछि अहिलेसम्म निर्माण टिमले परफेक्ट अनुहार भने भेट्न सकेको छैन। राजकुमार, विक्की र आर्यनमाथि अहिले टिमको आँखा अडिएको छ। यी तीनमध्ये को हुने, त्यो पछि नै थाहा हुनेछ। उनीहरू अहिले दर्शकले सर्वाधिक रुचाएका अभिनेतामा पर्छन्।