तम्घास– गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ। जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो। ढुङ्गेधारामा कागती खेतीका लागि आव २०७५७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कागती खेतीका लागि रु १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट रु दुई लाख ३४ हजार ७७६ गरी कुल रु १५ लाख ५६ हजार ४२६ विनियोजन भएको थियो।
त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ। उक्त आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन।
अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमीनमा खाल्डा पारिएको छ। शुरुको चरणमा २५० कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन्। बिरुवाका लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउँदा रोपेका बिरुवासमेत मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन्। अहिले जीवित र मरेका बिरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ।
वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताएका छन्। ‘गाउँपालिका र प्रदेश सरकारले रु १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन, उनले भने, ‘सबै काम समितिका अध्यक्षले गर्छन्, हामीलाई पत्तै हुँदैन।’ उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताएका छन्।
थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उनले बताएका छन्। अहिले पनि समितिको खातामा रु एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उनको भनाइ छ। गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताएका छन्।
उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्याङ्कन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उनले प्रतिक्रिया दिए। वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उनको भनाइ छ।
खानेपानी ट्याङ्कीमा दुईपटक तारबार
ढुङ्गेधाराको माथि देउरालीमा एउटा सिमेन्ट पोखरी निर्माण गरिएको छ। जहाँबाट कागती खेतीका लागि आवश्यक सिँचाइ हुनेछ। तर अचम्मको कुरा के छ भने पोखरीमा पनि दुईपटक तारबार गरिएको छ। शुरुमा पोखरीभन्दा करिब एक मिटरको दूरीमा पोखरी वरिवरि काँडेतार लगाइयो।
तर पछि मदिरा सेवन गरेका युवाले भाँचेको भन्दै पहिलेको भन्दा केही नजीकबाट पोखरीलाई तारबार गर्न थालिएको छ। पछिल्लो पटक तारबार गर्दा लाग्ने खर्च कारवाहीमा परेका युवाले दिने सहमति भए पनि बालबच्चालाई भने दुर्घटनाको जोखिम बढेको छ। (रासस)