एजेन्सी– ओप्पोले चीनको शन्चनमा मंसिर २४ गते मंगलवार पहिलो ‘ओप्पो इन्नो डे’ गर्ने भएको छ। ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ नाराका साथ हुने ओप्पो डेले फाइभजी युगमा अत्याधुनिक प्रविधि र सेवाको एकीकरणबारे स्पष्ट पार्ने बताइएको छ।
ओप्पोले यसपटक उक्त कार्यक्रम वैश्विक मिडिया, विश्लेषक, औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुला गरेको बताएको छ। कार्यक्रममा ओप्पोले फाइभजी, एआर र आईओटी लगायतमा आफ्ना नौला अवधारणा तथा उपलब्धि प्रस्तुत गर्नेछ।
फाइभजी, एआई, क्लाउड, बिग डेटा लगायत प्रविधिको विकास तथा समायोजनबाट ओप्पोलाई अझै अगाडि कसरी लैजाने भन्ने विषयमा समेत छलफल हुने ओप्पोको भनाइ छ।
कार्यक्रममा उद्योगका विशेषज्ञ, पार्टनर्स र अपिनियन लिडर्सलाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने व्यापक परिवर्तनमाथि प्रकाश पार्ने प्रयास पनि कार्यक्रममा गरिनेछ। प्रदर्शनीले ओप्पोको अत्याधुनिक प्रविधिको एकीकृत इको सिस्टमबारे प्रकाश पार्दै विभिन्न अवस्थामा तिनका उपयोगितासम्बन्धी जानकारी पनि दिइनेछ। इन्टेलिजेन्ट कनेक्टिभिटीको भविष्यबारे पनि कार्यक्रममा विशेष छलफल हुने बताइएको छ।