काठमाडौं– दुई जना अति नै मिल्ने साथीको मित्रताको कथामा चलचित्र ‘सँगसँगै’ बन्ने भएको छ। आज काठमाडौंको भद्रकाली मन्दिरमा चलचित्रको शुभसाइत गरिएको छ। चलचित्रको छायाँङ्कन भने माघबाट सुरु हुनेछ । मधुसुदन भट्टराइको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन्। चलचित्रको छायाँङ्कन नेपाल र अष्ट्रेलियामा हुनेछ।
चलचित्रलाई शुभकामना दिन चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी भद्रकाली मन्दिर पुगेका थिए। यो चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आश्मा गिरी, मुकुन भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ। चलचित्रमा तोरण क्षेत्री, विष्णु वहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको लगानी रहेनछ।चलचित्रमा शिव ढकालको छायाँङ्कन रहनेछ।
चलचित्रको बिषयमा लेखक सुवेदीले भने, ‘चलचित्रले दुई साथीको मित्रता र वैदेशिक रोजगारीको कथालाई उठान गर्नेछ। सानैबाट हरेक काम एकसाथ गर्ने बाचा गरेका २ साथीको मित्रतामा आउने दरार र प्रेमको कथामा चलचित्र बन्नेछ।’ जुन कथामा बन्न लागेको चलचित्रमा यथार्थ र सन्देश दुबै कुराको मिश्रण भएको अनुमान गरिएको छ।