एजेन्सी– फोब्र्सले विश्वका सर्वाधिक धनाढ्य व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ।
फोब्र्सले हालै सार्वजनिक गरेको ‘दी रियल टाइम बिलियनर्स’ सूचीमा भारतको बहुराष्ट्रिय कम्पनी रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी पनि पर्न सफल भएका छन्। उनी यो सूचीमा नवौँ स्थानमा छन्। उनको कुल सम्पत्ति ६० अर्ब अमेरिकी डलर पुगेको छ।
१. जेफ बेजोस
धनाढ्यको सूचीमा पहिलो स्थानमा अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस रहेका छन्। उनको कुल १ खर्ब १३ अर्ब डलर सम्पत्ति रहेको छ। उनी ब्लु ओरिजिन र वासिंटन पोष्टमा पनि आबद्ध छन्।
२. बिल गेट्स
माइक्रोसफ्टका संस्थापक बिल गेट्स कुल १ खर्ब ७ अर्ब ४० करोड अमेरिकी डलर सहित विश्वको दोस्रो धनी व्यक्ति हुन्। उनको सम्पत्तिको स्रोत आफ्ना मित्र पल एलनसंग स्थापित माइक्रोसफ्ट कम्पनी हो।
३. बर्नार्ड आर्नल्ट
LVMH Moet Hennessy Louis Vuitton कम्पनीका प्रमुख तथा सीईओ बर्नार्ड आर्नोउल्ट १ खर्ब ७ अर्ब २० करोड डलरसहित तेस्रो स्थानमा छन्। सिभिल इन्जिनियरिङको रुपमा आफ्नो व्यवसायिक जीवनको सुरुवात गरेका आर्नल्ट अहिले विभिन्न फेसन ब्रान्डका मालिक छन्।
४. वारेन बफेट
करिब ६० कम्पनीका मालिक बफेट आफ्नो लगानी गर्ने क्षमताका कारण पनि प्रसिद्ध छन्। त्यसैले उनी वर्कशेर हाथ्वे नामक बहुराष्ट्रिय कम्पनीका सिइओ हुन्। उक्त कम्पनीमा उनको सबैभन्दा बढी शेयर पनि छ। सन् २०१९ मा वारेन बफेटकाे कुल सम्पत्ति ८६ अर्ब ९० करोड डलर रहेकाे छ।
५. मार्क जुकरबर्ग
फेसबुकका सीईओ मार्क जुकरबर्ग पाँचौँ स्थानमा छन्। जुकरबर्गको सम्पति ७४ अर्ब ९० करोड डलर रहेको छ। एक अरबभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकका मालिक जुकरबर्ग विश्वकै सबैभन्दा कनिष्ट अरबपति पनि हुन्।
६. अमान्सियाे ओर्टेगा
त्यसै गरी जारा फेशन ब्राण्डको स्वामित्व रहेको इन्डिटेक्स कम्पनीका संस्थापक एमान्सिओ ओर्टेगा ६९ अर्ब ३० करोड डलरसहित छैटौँ स्थानमा छन्। उनले सन् १९७५ मा आफ्नी श्रीमती स्व. रोसालिया मेरासँग मिलेर इन्डिटेक्स स्थापना गरेका थिए।
७. ल्यारी इलिसन
कम्प्युटर विज्ञानको एउटा पनि कक्षा नलिई विश्वकै उत्कृष्ट मध्येको एक सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक बनेका इलिसन कुल ६९ अर्ब २० करोड डलरसहित सातौं स्थानमा छन्।
८. कार्लोस स्लिम हेलु
कार्लोस स्लिम हेलु कूल ६० अर्ब ९० करोड डलर सम्पत्तिसहित आठौँ स्थानमा छन्। मेक्सिकन नागरिक कार्लोस स्लीमको टेलिकम्युनिकेसन र बैंकिङसँग सम्बन्धित करिब २०० कम्पनीहरु छन्।
त्यस्तै भारतीय अर्बपति मुकेस अम्बानी नवौँ र अल्फाबेटका सीईओ ल्यारी पेज कुल सम्पत्ति ५९ अर्ब ६० करोड डलरसहित दसौँ स्थानमा छन्।