काठमाडौं– खलपात्र वा भिलेन भन्न साथ मानिसले नराम्रो तरिकाले सोचिरहेका हुन्छन्। नेपाली चलचित्रले भिलेन अर्थात खलपात्रको परिभाषा विस्तारै परिवर्तन गर्दैछ। चलचित्रमा नकारात्मक चरित्रमा देखिँदा लामो कपाल पाल्नैपर्ने, ठूलो पेट हुनुपर्ने जुन खालको सोच थियो, त्यो हराउँदै गएको पाइन्छ।
भिलेन पनि अब लुक्समा नायकलाई चुनौती दिने भैसकेका छन्। पछिल्ला केही वर्षयता नायक अनुप विक्रम शाहीलाई ‘ह्यान्डसम भिलेन’को रुपमा चिनिन्छ। तपाइले चलचित्र ‘सरौतो’ हेर्नुभएको छ भने, त्यसमा एक जना पात्र छन्। आकर्षक शरीर बनाएका, ह्यान्डसम लुक्समा देखिने पात्र धेरैको नजरमा परेका छन्। उनको वास्तविक नाम, टंक धमला हो। बेलायतमा बस्दै आएका टंकलाई चलचित्रमा भने ‘लियो ट्यांक’ को नामबाट चिनिन्छ।
टंक आफूलाई कलाकारितामा ‘लियो’ नामबाट नै चिनाउन चाहन्छन्। बेलायतमा रहेर पनि म्यूजिक भिडियो, छोटा चलचित्रमा काम गर्दै आएका लियोको ‘सरौतो’ भने डेब्यू चलचित्र हो। चलचित्रमा उनको गेटअप, प्रस्तुति आदिले दर्शकको मन जित्छ। नेपाली चलचित्रमा अर्का एकजना ‘ह्यान्डसम भिलेन’ को उदय भएको छ। अब, उनलाई चलचित्र क्षेत्रले कसरी लिने हो र उनले आफूलाई कसरी अगाडि बढाउने हुन्, यसमा भने धेरै कुरा निर्भर रहन्छ। भलै, ‘सरौतो’ बक्स अफिसमा असफल भयो। तर, लियो भने चलचित्रकर्मीको नजरमा नोटिस भएका छन्। ‘सरौतो’ का निर्देशक हरि हुमागाँई भन्छन्, ‘लियो चलचित्र क्षेत्रमा केही गर्न चाहन्छन्। यसैका लागि उनी बेलायतबाट नेपाल आए र काम गरे।’