काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले आज (शनिबार) माल्दिभ्सको सामना गर्दै छ। खेल दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुनेछ।
तुलानात्मक रुपमा माल्दिभ्स प्रतियोगिताको बलियो टोली मानिन्छ। माल्दिभ्ससँग नेपाली टिमको असली परीक्षा हुनेछ। नेपाललाई फाइनल पुग्नको लागि आजको खेल जित्नैपर्ने हुन्छ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४–० गोलले हराएको थियो। नेपालले दोस्रो खेलमा श्रीलंकासँग एक एक गोलको बराबरी खेलेको थियो। श्रीलंकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले अन्तिम समयसम्म अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको थियो।
साग पुरूष फुटबलमा नेपालले स्वर्णपदककाे आश गरेकाे छ। उक्त आशा जिवितै राख्न घरेलु मैदानमा दर्शकहरूकाे हुटहुटीकाबीच नेपाल शनिबारकाे खेलमा माल्दिभ्सलाई स्तब्ध पार्दै अघिल्लाे चरणमा प्रवेश गर्ने दाउमा छ।