नारायणगढ–पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि गैँडाकोट नगरपालिका भित्रका ३ हजार २ सय १८ वटा रुख काटिने भएको छ।
चार लेनको सडक विस्तारका लागि गैँडाकोटको नारायणी पुलबाट झराही खोलासम्मको करिब १९ किलोमिटर सडकमा सडक छेउमा रहेका रुख काटिने भएको हो।
सव डिभिजन वन कार्यालय गैँडाकोटका सहायक वन अधिकृत ज्योतिप्रसाद कोइरालाका अनुसार सडक विस्तारका लागि गैँडाकोटमा काटिने रुखको छपान सकिएको छ। वन मन्त्रालयबाट आदेश आएपछि छपान भएका रुखको कटान शुरु गरिने कोइरालाले बताए।
रुखलाई दुई तहमा वर्गाीकरण गरी छपानको काम भएको छ। पाँच इञ्च मोटाई भन्दा ठूलो र पाँच इञ्चभन्दा सानो रुखमा विभाजन गरेर छपान गरिएको कोइरालाले बताए। गैँडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म वनका रुख काटिनेछ। थुम्सीबाट मुकुन्दपुरसम्म हनुमान मन्दिर धार्मिक वन, मुकुन्दसेन सामुदायिक वन, नारायणी सामुदायिक वन र सिद्धीदात्री कोटिहोम धार्मिक वन रहेका छन्।
हनुमान मन्दिर धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला ७ सय १२ रुख छपान गरिएको छ भने पाँच इञ्चभन्दा साना १ सय ९७ रुखमा छपान गरिएको छ। सहायक वन अधिकृत कोइरालाका अनुसार मुकुन्दसेन सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला ८ सय २८ तथा पाँच इञ्चभन्दा साना २ सय ५ रुखमा छपान भएको छ।
त्यसैगरी, नारायणी सामुदायिक वनमा पाँच इञ्चभन्दा ठूला एक हजार ७१ तथा पाँच इञ्चभन्दा साना १ सय ९७ रुखमा छपान गरिएको छ । त्यस्तै सिद्धीदात्री कोटीहोम धार्मिक वनमा पाँच इञ्चभन्दा ठूला सात तथा पाँच इञ्चभन्दा साना एउटा रुखमा छपान भएको उनले जानकारी दिए। नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि पहिलो खण्डअन्तर्गत नवलपुरको कावासोती नगरपालिकामा पर्ने लोकाहाबाट काम शुरु भएको छ।
पूर्व पश्चिम राजमार्गमा पर्ने नारायणगढ–बुटवल सडकखण्डको १ सय १३ किलोमिटर सडक विस्तारका लागि दुई खण्डमा विभाजन गरेर काम अगाडि बढाइएको छ। पहिलो खण्ड निर्माणको जिम्मा पाएको चाइनिज ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले रुख छपान गरेसँगै कटानका लागि आदेश कुरेर बसेको छ। रुख कटान आदेश आएसँगै रुख काटेर गैँडाकोटबाट समेत सडक विस्तारको काम शुरु गर्ने कम्पनीले जनाएको छ। रासस