नेपालगञ्ज–असहाय, बेसहारा नागरिकलाई सडकबाट उद्धार गरिएपछि अहिले उनीहरुको पुनःस्थापनाको चुनौती पनि थपिएको छ। प्रदेश नं ५ सरकारको कार्यक्रमअनुसार बाँकेका विभिन्न स्थानबाट उद्धार गरिएका बेसहारा, असहाय ज्येष्ठ नागरिक र बालबालिकालाई अहिले नेपालगञ्जस्थित नीलसागर सेवा आश्रममा राखिएको छ।
आश्रममा क्षमताभन्दा बढी सङ्ख्यामा असहाय, बेसहारा नागरिकलाई राखिएपछि उनीहरुको उचित रेखदेख, स्याहार तथा पुनःस्थापनाको चिन्ताले आश्रमका सञ्चालकलाई अहिले पिरोल्न थालेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाको सडक, मठमन्दिरबाट उद्धार गरिएका ७० जनाभन्दा बढीले नीलसागरमा आश्रय लिइरहेका छन्।
“सडकबाट मुक्त गरिएका नागरिकको पालनपोषण तथा पुनःस्थापनाका लागि स्थानीय र प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार नै उनीहरुलाई आश्रममा राखिएको हो”, आश्रमका अध्यक्ष सरिता खनालले भनिन । बाँकेका तीन स्थानीय तहबाट १ सय ६५ जना असहाय, बेसहारालाई सडक तथा मठमन्दिरबाट आश्रममा लगिएको छ।
अहिलेसम्म नेपालगञ्जबाट ७५, कोहलपुरबाट ५५ र खजुराबाट ३५ जनालाई सडकबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ८० जनालाई पारिवारिक पुनःमिलन गराइएको छ। अहिले नीलसागर सेवा आश्रममा सडकवाट मुक्त गरिएका ७० जना ज्येष्ठ नागरिक र बालबालिका छन्। यस्तै, नीलसागरको शाखा कोहलपुरमा २८ जना र बर्दियाको गुलरियामा ३३ जना असहाय, बेसहारा नागरिकले आश्रय लिइरहेको अध्यक्ष खनाल बताइन।
सडक तथा मठमन्दिरबाट उद्धार गरिएका त्यस्ता नागरिकको लालनपालनका लागि मासिक रु तीन लाख बढी खर्च हुने गरेको र भाडाको घरमा उनीहरुको व्यवस्थापनमा कठिनाइ आउने गरेको छ। “प्रदेश र स्थानीय सरकारले बस्ने भवन र उचित व्यवस्थापन गरिदिएको खण्डमा मात्र उद्धार गरिएका असहाय तथा बेसहाराको पुनःस्थापनालाई सहज बनाउन सकिन्छ”, अध्यक्ष खनालको भनाइ छ।
नेपालगञ्जमा विसं २०७३ मा स्थापना भएको नीलसागर सेवा आश्रमले शुरुआति चरणदेखि नै असहाय, अशक्त तथा सहारा विहीनलाई सडकबाट उद्धार गर्दै आएको छ। सेवा आश्रमको मासिक खर्च अहिले रु तीन लाख रहेको छ। अहिलेसम्म विभिन्न दाताबाट प्राप्त हुँदै आएको नगद, चामल, दाल, लुगाफाटो, जिन्सी सामग्रीबाट आश्रमको गुजारा चल्दै आएको छ। प्रदेश नं ५ सरकारले सडक मानवमुक्त अभियान सञ्चालन गरेपछि बाँकेका स्थानीय तहका जनप्रतिनिधिले पनि अभियानमा साझेदारी गरेका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर भन्छिन्। असहाय, बेसहारालाई सडक, मठमन्दिरबाट उद्दार गर्न उपमहानगरपालिकाको प्रदेश नं. ५ सरकारसंग सहकार्य भएको छ। नीलसागरलाई हामीले अभियानमा समेटेका छौँ। उद्धार गरिएकाको उचित लालनपालन र पुनःस्थापनाका लागि आवश्यक रकम र अन्य सहयोग हामी नीलसागरलाई उपलब्ध गराउने छौँ।”
नेपालगञ्ज केन्द्रीय कार्यालय रहेको नीलसागर सेवा आश्रमको शाखा कार्यालय हाल बाँकेको कोहलपुर, सुर्खेत, दैलेख बर्दियाको गुलरिया र दाङमा समेत विस्तार गरिएको छ। आश्रमसँग अहिले ती जिल्लामा आफ्नो भवन छैन। सबै शाखा कार्यालय भाडाको घरमा स्थापना गरिएको छ। रु पाँच करोडको लागतमा पाँच वर्ष्भित्र नेपालगञ्ज–६ मा आश्रमको केन्द्रीय कार्यालय भवन निर्माण हुने भएको छ।
केही समयअघि प्रदेश नं ५ का सामाजिक विकास मन्त्रीले भवनको शिलान्याससमेत गर्नुभएको थियो। भवन निर्माणका लागि प्रदेश ५ सरकारले सबै खर्च व्यवहोर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म रकम हात नपरेको अध्यक्ष खनालको भनाइ छ।रासस