काठमाडौ– अर्थमन्त्री डा युवराज खतिवडाले बनेपाको आइटी पार्क जस्तै पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्रलाई प्रयोगविहीन नबनाउन आग्रह गरेका छन्। पाँचखाल नगरपालिका–८ मा निर्माणाधीन सेजको निरीक्षण गर्दै उनले बनेपाको आइटी पार्क जस्तै प्रयोग बिहिन नबनाउन आग्रह गरेका हुन्।
‘बजेटको कमी हुँदैन, बजेट अभावले काम रोकिँदैन, उनले भने ‘ हामीले उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेका छौंं।’ भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरुलाई झकझकाउन उनले आग्रह गरे।
मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेको बताए। ‘बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ, उनले भने ‘अर्बौं लगानी गरियो, अहिले प्रयोगविहीन अवस्थामा छ, यो निकै दुःखलाग्दो विषय हो।’
दुई सय ५७ रोपनीमा फैलिएको आइटी पार्कमा दुई ठूला प्रशासनिक भवन, चार सुविधासम्पन्न आवासीय भवन तथा अन्य आवश्यकीय गरी नौ भवन प्रयोगविहीन अवस्थामा छन्।
मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए। मन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्नुपर्ने बताए।
चालू आथिृक वर्षमा १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोडमा पर्खाल निर्माण भइरहेको छ। सेज निर्माणका लागि नपाको वडा नं ७ र ८ स्थित पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा छुट्याइएको छ। रासस