एजेन्सी– ‘ड्रग्सका भगवान् नामले चर्चित पाब्लो एस्कोबरका दाजुले अनौठो स्मार्टफोन सार्वजनिक गरेका छन्। ७१ वर्षीय रोबार्टो एस्कोबरले सार्वजनिक गरेको गोल्डेन कलरको फोल्ड गर्न मिल्ने फोनलाई उनले एस्कोबार फोल्ड १ नाम दिएका छन्।
उनको कम्पनी ‘एस्कोबार इङ्क’ का प्रमुख कार्यकारी अधिकृत गुस्ताफसनले सिएनएनसँग बताएअनुसार सो फोनको स्क्रिन एक विशेष किसिमको प्लाष्टिकले बनेको छ जसकारण यो कसैगरी नफुट्ने बताइएको हो। त्यसैले पनि यो स्मार्टफोन बजारको सबैभन्दा टिकाउ स्क्रिन भएको उनले दाबी गरेका हुन्। यसको मूल्य ३४९ डलरबाट सुरु हुन्छ भने यसले एन्ड्रोइड अपरेटिङ सिस्टमको प्रयोग गरेको छ। गुस्तफसनले भनेका छन् “हाम्रो फोन अत्यन्तै कठोर परीक्षणबाट गुज्रिएको छ। त्यसैले यसलाई नष्ट गर्ने वा फुटाउने एक मात्र तरिका आगोमा जलाएर हुन सक्छ। र मेरो विचारमा प्रायः मोबाइल प्रयोगकर्ताको फोन आगोमा पर्दैन। ”
सो कम्पनी रोबार्टोले १९८४ मा स्थापना गरेका थिए। भाइ जसरी नै रोबर्टो पनि ड्रग्सको मुद्दामा १० वर्ष जेल परिसकेका छन्। कैदबाट छुटेपछि उनले आफ्नो व्यवसाय सुरु गरेका हुन्। यसरी १९९३ मा जेलमा भएको बम हमलापछि सुन्न र देख्नमा केही समस्या रहेका रोबर्टो अहिले सामसङ ग्यालेक्सी फोल्डको मार्गमा हिँड्ने सपना देखिरहेका छन्। उनले संचार माध्यम सिएनएनसँग भने, ”हामी यस प्रतिस्पर्धामा अघि आउन चाहन्छौँ। यसमा फोल्ड गर्न मिल्ने मोबाइल व्यवहारिक मूल्यमा विक्री गर्न सक्यौँ भने हामीले धेरै ग्राहक आकर्षित गर्न सक्नेछौँ र अहिले त्यही भइरहेको छ।” सीएनएन