काठमाडौं– मुना चौधरीद्धारा लिखित मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको उपन्यास ‘दुलारी’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक नयनराज पाण्डे र अध्येता प्रियंका कापरले पुस्तक सार्वजनिक गरेका हुन्।
लेखक पाण्डेले चौधरीले मिहिन ढंगले मधेसको चित्रण गरेको बताए। मधेसी परिवेश उताएिका ‘लू’ र ‘उलार’ जस्ता कृतिका लेखक पाण्डेले मधेसको समाज र परिवेशलाई चौधरीले जसरी आफूले उतार्न नसकेको बताए। उनले मधेशी दलित महिलालाई केन्द्रमा राखेर किताब लेखेकोमा चौधरीको प्रशंसा समेत गरे। राष्ट्रिय गानले सयौं थुँगा फुलका हामी एउटै माला नेपाली भनेर अनेकता भित्र एकताको महिमा मण्डन गरे पनि सिमान्तकृत समुदायका संङ्घर्ष, कथा, व्यथालाई मुना चौधरीजस्ता लेखकले उजागर गर्ने गरेको बताए।
अर्की वक्ता कापरले ‘दुलारी’ उपन्यासले मुसहर समुदायबारे पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन्। छुवाछुत जस्ता सामाजिक कुरीति र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मूलपात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने बताइन्। मानव सूचांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन्। चौधरीको यो दोस्रो उपन्यास हो। यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवश्थाको झलक दिने ‘जयवर्धन सलहेश’ उपन्यास प्रकाशित छ।
लेखक चौधरीले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै मुसहर समुदायको दुस्ख आफूले सानैदेखि देखेका हुनाले उनीहरुका कथा लेख्न उत्प्रेरित भएको बताइन्। उनले भनिन् ‘आफै लेख्न नसक्ने समुदायको कथा लेख्नु लेखकको दायित्व हो।’ सांग्रिला प्रकाशनबाट प्रकाशित २९० पृष्ठको ‘दुलारी’ उपन्यासको मूल्य रु ३९५ रुपैयाँ तोकिएको छ।